गत साउन ३२ गतेदेखि निरन्तर बढेको नेप्से परिसूचक मङ्गलवार ५ सय १ विन्दुमा पुगेकोमा बुधवार केही करेक्शन भएको छ । नेप्सेको यो प्रवृत्तिप्रति बजारमा मिश्रित प्रतिक्रिया देखिएका छन् । एकथरीले सहमतिमा बजेट आउने हल्लाले मङ्गलवारसम्म बढेको नेप्से एकतर्फी बजेट आएकाले बुधवार घटेको बताएका छन् ।
उनीहरूका अनुसार यो अझै घट्छ । अर्काथरीले यो घटबढ स्वाभाविक प्रक्रियाबाटै अघि बढेको र अब १/२ दिनभित्रै यो फेरि बढ्न थाल्ने प्रतिक्रिया दिएका छन् । तर, केही दिनयता बजारको प्रवृत्तिलाई गहिरिएर हेर्दा नेप्सेको घटबढलाई स्वाभाविकै मान्नुपर्छ र यसबाट लगानीकर्ता आत्तिनुपर्ने देखिँदैन ।
केही दिनअघि नेप्सेले ५ सय ६ को प्रतिरोधलाई परीक्षण गर्ने र त्यसपछि केही घट्ने अनुमान गरिएको थियो । तर, बुधवार ५ सय १ बाटै नेप्से तल भयो र ४ सय ९९ दशमलव ३४ मा आइपुग्यो । यो भनेको बजार करेक्शन हो । यस्तै बिहीवार पनि नेप्से परिसूचकमा केही करेक्शन हुन सक्छ ।
पछिल्ला केही दिन नेप्से धेरै अङ्क बढेकाले अझै केही करेक्शनको सम्भावना देखिएको हो । बजारमा हुन सक्ने त्यस्ता करेक्शनप्रति लगानीकर्ता सधैं सचेत रहनुपर्छ । करेक्शन शेयर बजारको स्वाभाविक प्रक्रिया नै हो । तर, केकस्ता कारणले करेक्शन भएको हो, त्यो भने बुझ्नु जरुरी छ ।
वर्ष ८, अंक ६४, बिहीवार ७ मङ्सिर, २०६९