काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार (आज) नेप्से परिसूचक ३ दशलमव ०२ प्रतिशत बढेर २ हजार ५६३ दशमलव ४३ विन्दुमा पुगेको छ ।
आज नेप्से परिसूचक २८ महीनायताकै उच्च विन्दुमा बन्द पुगेको हो । यसअघि २०७८ चैत १६ गते नेप्से परिसूचक २ हजार ५६८ दशमलव २५ विन्दुमा बन्द भएको थियो । आजसँगै लगातार ६ कारोबार दिन नेप्से बढेको हो । ६ कारोबार दिनमा नेप्से १३ दशमलव ६२ प्रतिशत बढेको छ ।
सरकार पूँजी बजार सुधारप्रति प्रतिबद्ध देखिएको छ । पछिल्लो केही महीनायता ब्याजदर घटिरहेको छ । वित्तीय प्रणालीमा पर्याप्त मात्रामा लगानीयोग्य तरलता छ । यी कारणले आम लगानीकर्ताको मनोबल बढेको देखिन्छ ।
त्यस्तै मौद्रिक नीति खुकुलो आउने अनुमान गरिएको छ । मौद्रिक नीति शेयर बजारमैत्री हुने अनुमानसहित लगानीकर्ता आकर्षित भएको जानकार बताउँछन् । विगत ३ वर्षदेखि नेप्से घट्दो ट्रेण्डमा रहेकाले बजारले अब बुलिस बाटो समातेको लगानीकर्ताकाे भनाइ छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स २ दशलमव ३१ प्रतिशत, फ्लोट इन्डेक्स ३ दशलमव ०२ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव ५५ प्रतिशत वृद्धि भएको छ ।
३१७ धितोपत्रको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता शेयर १ लाख ७१ हजार ३८७ पटकमा रू. १४ अर्ब ११ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये पाँच धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । बोटलर्स नेपाल बालाजु, समृद्धि फाइनान्स, माण्डु हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट नेपाल र नेपाल वेयर हाउजिङ्ग कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको हो ।
मंगलवार गणपति लघुवित्त वित्तीय सस्थाका शेयरधनीले धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ५ दशमलव ८३ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ९३५ दशमलव ३० मा झरेको छ । त्यस्तै १० दशमलव २५ प्रतिशत माछापुच्छ्रे बैंक डिबेञ्चर २०८५ नामक ऋणपत्रको मूल्य ३ दशलमव ९५ प्रतिशत घटेर रू. १ हजार १५९ दशमलव १० कायम भएको छ ।
यस दिन शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा शिवम् सिमेन्टले ओगटेको छ । यस कम्पनीको रू. २४ करोड ६९ लाख बराबरको कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५८८ कायम भएको छ । त्यस्तै शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा अपि पावर कम्पनीको रू. २४ करोड २६ लाख बराबरको भएको हो ।
कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक सबै बढेका छन् । तीमध्ये सबैभन्दा बढी व्यापार समूहको सूचक ५ दशलमव ०६ प्रतिशत वृद्धि भएको छ । त्यस्तै जीवन बीमा समूहको ४ दशमलव ४५ प्रतिशत, निर्जीवन बीमा समूहको ४ दशलमव ३७ प्रतिशत र जलविद्युत् समूहको सूचक ३ दशलमव ९७ प्रतिशत वृद्धि भएको छ ।