काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले भदौ १३ गतेदेखि २४ गतेसम्म विक्री गरेको १३ लाख ३६ हजार ७४२ दशमलव ७१७८ कित्ता अवितरित हकप्रद शेयर असोज २ गते बाँडफाँट गरेको हो । बाँडफाँटको अन्तिम मूल्य ११० रुपैयाँ रहेको जानकारी विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले दिएको छ ।
कम्पनीले असार २९ देखि साउन १८ गतेसम्म ५० प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । कम्पनीले जेठ ३२ गतेसम्म कायम शेयरधनीहरूका लागि १० बराबर ५ को अनुपातमा ८२ लाख २१ हजार ४५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । सो अवधिसम्म रितपूर्वक आवेदन दिएका २७ हजार ९९१ जना आवेदकहरूलाई ६८ लाख ८४ हजार ७१७ कित्ता हकप्रद शेयर मात्र साउन ३० गते बाँडफाँट गरिएको थियो । सो अवधिमा वितरण नभएको शेयर कम्पनीले लिलामीमा विक्री गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ९१ हजार रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ४६ करोड ६४ लाख ३७ हजार रुपैयाँ कायम भएको छ । अवितरित हकप्रद शेयर बाँडफाँटमा नपरेको रकम असोज ७ गतेदेखि सम्बन्धित शेयरधनीहरूको बैंक खातामा रकमान्तर गरिने जानकारीसमेत कम्पनीले दिएको छ ।
कम्पनीले सिन्धुपाल्चोकको पाँचपोखरी श्राङ्गपाल गाउँपालिका तथा मेलम्ची नगरपालिका भएर बग्ने ईन्द्रावती नदीको पानी उपयोग गरी ७ दशमलव ५ मेगावाट क्षमताको ईन्द्रावती–३ जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको छ । उक्त आयोजनाबाट कम्पनीले २०५९ असार २१ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।
हाल कम्पनीले ४ दशमलव ५ मेगावाट क्षमताको तल्लो ईन्द्रावती जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यीसँगै भोजपुरमा १४ दशमलव १५ मेगावाट क्षमताको तल्लो इर्खुवा खोला जलविद्युत आयोजनाको निर्माण कम्पनीकै अधिकतम शेयर भएको लोअर इर्खुवा हाइड्रोपावर कम्पनीमार्फत भइरहेको छ ।
कम्पनीको सुनकोशी हाइड्रोपावरलाई प्राप्ति गरी २०७९ असोज १४ गतेदेखि एकीकृत कारोबार शुरू गरेको थियो । सुनकोशी हाइड्रोपावर कम्पनीमार्फत यस कम्पनीले तल्लो इन्द्रावती जलविद्युत आयोजनामा लगानी गरेकोमा उक्त आयोजनाको इजाजत पत्र सरकारले रद्द गरेको छ ।
सरकारले सो आयोजना लिलाम बढाबढ प्रक्रियामार्फत उपलब्ध गराउने निर्णय गरेसँगै नेशनल हाइड्रोपावरले सो इजाजत पत्र प्राप्त गरी उक्त आयोजना निर्माण गर्ने तयारी गरिरहेको छ । कम्पनीले सोही आयोजनामा लगानी गर्न हकप्रद विक्री गर्न लागेको हो ।