काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको १३ लाख ३६ हजार ७४२ दशमलव ७१७८ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा आउने भएको छ । कम्पनीले असार २९ गतेदेखि साउन १८ गतेसम्म ५० प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । कम्पनीले जेठ ३२ गतेसम्म कायम शेयरधनीहरूका लागि १० बराबर ५ को अनुपातमा ८२ लाख २१ हजार ४५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।
तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका २७ हजार ९९१ जना आवेदकहरूलाई ६८ लाख ८४ हजार ७१७ कित्ता हकप्रद शेयर साउन ३० गते बाँडफाँट गरेको कम्पनीले जानकारी दिएको हो । बाँडफाँटमा नपरेको हकप्रद शेयर बापतको रकम भदौ १ गतेदेखि सम्बन्धित शेयरधनीहरूको बैंक खातामै रकमान्तर गरिने कम्पनीको भनाइ छ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ९१ हजार रुपैयाँ छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ४६ करोड ६४ लाख ३७ हजार रुपैयाँ पुग्नेछ ।
कम्पनीले सिन्धुपाल्चोकको पाँचपोखरी श्राङ्गपाल गाउँपालिका तथा मेलम्ची नगरपालिका भएर बग्ने ईन्द्रावती नदीको पानी उपयोग गरी ७ दशमलव ५ मेगावाट क्षमताको ईन्द्रावती–३ जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको छ । उक्त आयोजनाबाट कम्पनीले २०५९ असार २१ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । हाल कम्पनीले ४ दशमलव ५ मेगावाट क्षमताको तल्लो ईन्द्रावती जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
योसँगै भोजपुरमा १४ दशमलव १५ मेगावाट क्षमताको तल्लो इर्खुवा खोला जलविद्युत आयोजनाको निर्माण कम्पनीकै अधिकतम शेयर भएको लोअर इर्खुवा हाइड्रो पावर कम्पनीमार्फत भइरहेको छ ।
कम्पनीको सुनकोशी हाइड्रोपावरलाई प्राप्ति गरी २०७९ असोज १४ गतेदेखि एकीकृत कारोबार शुरू गरेको थियो । सुनकोशी हाइड्रोपावर कम्पनीमार्फत यस कम्पनीले तल्लो इन्द्रावती जलविद्युत आयोजनामा लगानी गरेकोमा उक्त आयोजनाको इजाजत पत्र नेपाल सरकारले रद्द गरेको छ ।
नेपाल सरकारले सो आयोजना लिलाम बढाबढ प्रक्रियामार्फत उपलब्ध गराउने निर्णय गरेसँगै नेशनल हाइड्रोपावरले सो इजाजतपत्र प्राप्त गरी उक्त आयोजना निर्माण गर्ने तयारी गरिरहेको छ । कम्पनीले सोही आयोजनामा लगानी गर्न हकप्रद विक्री गर्न लागेको हो ।