काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको (आव)को चौथो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. ४८ लाख ३२ हजार नाफा कमाएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा भने कम्पनी रू. १ करोड ७४ लाख नोक्सानीमा थियो ।
त्यस्तै कम्पनीको विद्युत विक्री आम्दानी पनि अघिल्लो आवको तुलनामा गत आवमा ४ दशमलव ७७ प्रतिशत घटेको छ । कम्पनीले अघिल्लो आवमा विद्युत विक्रीबापत रू. ४ करोड ९१ लाख आम्दानी गरेकोमा गत आवमा घटेर रू. ४ करोड ६८ लाखमा सीमित भएको छ । कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६४ करोड छ । कम्पनीले जगेडामा रू. १ करोड ३१ लाख सञ्चिति गरेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १४ पैसा छ भने वार्षिकीकरण र प्रतिशेयर नेटवर्थ रू. १०० दशमलव ७१ छ ।