काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश पारित गरेको छ । कम्पनीले सोमवार ३५औं वार्षिक साधारण सभा सम्पन्न गरी प्रस्तावित लाभांशलाई अन्तिम स्वीकृति प्रदान गरेको हो ।
गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले यस वर्ष ८ प्रतिशत बोनस शेयर र ६ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । कर प्रयोजनका लागि रू. १ करोड ९५ लाख ३८ हजार ६६१ रकम कम्पनीले छुट्याएको छ । लगानीकर्तालाई नगद लाभांश वितरण गरिहाल्ने जानकारी दिएको कम्पनीले बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि मात्र वितरण गरिने बताएको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि जेठ ११ गते बुक क्लोज गरेकाले जेठ १० गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् । कम्पनीले रू. ४ अर्ब ६४ करोड ४० लाख ३१ हजारको आधारमा लाभांश वितरण गर्न लागेको हो । बोनस शेयरपछि कम्पनीको चुक्तापूँजी रू. ५ अर्ब १ करोड १६ लाख ६६ हजार पुगेको छ । नेपाल बीमा प्राधिकरणले तोकेबमाजिम जीवन बीमा कम्पनीले कायम गर्नु पर्ने पूँजी कम्पनीले पुर्याएको छ ।
धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयर मूल्य सोमवार प्रतिकित्ता रू. ५७८ कायम भएको छ । यस दिन कम्पनीको रू. ८३ करोड २८ लाख २१ हजार बराबरको १४ लाख १३ हजार ८३७ कित्ता शेयर कारोबार भएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले रू. ११ अर्ब १३ करोड १५ लाखभन्दा बढी खुद बीमा शुल्क आर्जन गरेको छ ।
चालू आर्थिक वर्षको ९ महीनासम्म कम्पनीले रू. ५ अर्ब ५७ करोडभन्दा बढी खुद दाबी भुक्तानी गरेको छ । तेस्रो त्रैमाससम्म रू. २९ करोड ६९ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीको जगेडा कोषमा रू. ३२ करोड ९१ लाखभन्दा बढी र जीवन बीमा कोषमा रू. ५८ अर्ब २६ करोडभन्दा बढी रकम कायम छ ।
यस अवधिसम्मको प्रतिशेयर आम्दानी रू. ८ दशमलव ५३ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ११५ दशमलव २६ रहेको छ । कम्पनीले व्यवसाय वृद्धिका लागि नयाँ बीमा योजनाहरू बजारमा ल्याउने लक्ष्य लिएको छ ।