काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रू. २९ करोड ६९ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा १६ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीले रू. २५ करोड ५६ लाख नाफा कमाएको थियो ।
चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवमा कम्पनीले रू. ४० करोड ६४ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ४७ करोड ३० लाख पुगेको छ ।
कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ६४ करोड रहेको छ । कम्पनीले जगेडा तथा कोषमा रू. ३२ करोड ९१ लाख, जीवन बीमा कोषमा रू. ५८ अर्ब २६ करोडभन्दा बढी र महाविपत्ति कोषमा रू. ३७ करोड ९० लाख सञ्चित गरेको छ । चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीले रू. ११ अर्ब १३ करोडभन्दा बढी खुद बीमा शुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनमीले पुनर्बीमाबापत रू. ३ करोड ३३ लाख आम्दनी गरेको हो ।
कम्पनीले रू. ५ अर्ब ६५ करोड दाबी भुक्तानी गरेको छ भने रू. ७९ करोड ३० लाख दबी भुक्तानी गर्न बाँकी रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ८ दशमलव ५३, मूल्य आम्दानी अनुपात ६८ दशमलव ४६ गुणा र प्रतिशेयर नेटवर्थ रू. ११५ दशमलव २६ रहेको छ ।