काठमाडौं। नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरूको निर्वाचन बिहीवार बनेपामा सम्पन्न भएको छ । उक्त निर्वाचन प्रक्रियाबाट चारजना सञ्चालक निर्वाचित भएका छन्, जसमा केशवप्रसाद आचार्य, रविन सिजापती, प्रदितकुमार रेग्मी र क्षितिज खड्का छन् ।
सिजापती तथा खड्का क्रमश: नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र कुमारी बैंकबाट प्रतिनिधित्व गरी आएको बताइएको छ । साथै सर्वसाधारण समूहबाट नरेन्द्रप्रसाद छत्कुली र रामकुमार तिमल्सिना निर्विरोध निर्वाचित भएका थिए । उक्त कार्यक्रममा निर्वाचन अधिकृत लीलामणि पौडेलले निर्वाचित सञ्चालकलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
संस्थाले ७४ जिल्लामा १८४ शाखा कार्यालयमार्फत २ लाख २५ हजारभन्दा बढी विपन्न परिवारलाई सेवा पुर्याउँदै आएको बताइएको छ । संस्थाले १ लाख ८ हजारभन्दा बढी सदस्यलाई विभिन्न परियोजना सञ्चालनका लागि रू. २० अर्ब २७ करोड कर्जा लगानी गरेको छ भने बचत रू. ५ अर्ब ३३ करोड रहेको बताइएको छ ।