काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । चैत १६ गते सम्पन्न दशौं वार्षिक साधारण सभाबाट पारित भएको कर समेत उक्त नगद लाभांश कम्पनीले सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा गरिदिएको हो ।
फागुन २९ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको नगद लाभांश प्राप्त गर्नेछन् । यस वर्ष कम्पनीले नगद लाभांशसँगै ७ दशमलव ५ प्रतिशत बोनस शेयर समेत वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृतपछि शेयरधनीहरूको हितग्राही खातामै जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।
कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी १ अर्ब ८ करोड ४२ लाख ६ हजार रूपैयाँको आधारमा कुल १५ प्रतिशत लाभांश यो वर्ष वितरण गर्ने निर्णय गरेको हो । बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपछि कम्पनीको चुक्तापूँजी १ अर्ब १६ करोड ५५ लाख २१ हजार रूपैयाँ कायम हुनेछ ।
बोनस शेयर वितरणपछि कायम हुने संस्थापक र सर्वसाधारण समूहको शेयर पूँजीको अनुपात मिलान गर्दा अपुग भएको सर्वसाधारण तर्फको ६ करोड ६९ लाख ९० हजार रूपैयाँ बराबरको ६ लाख ६९ हजार ९०० दशमलव २७ कित्ता थप सार्वजनिक निष्कासन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । कम्पनीले संस्थापक तर्फ ७० र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व कायम गर्नेछ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट प्रिमियम मूल्यमा एफपीओ निष्कासनका लागि अनुमति लिने योजना कम्पनीको छ । एफपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गरेको छ ।
नेपाल पुनर्बीमा कम्पनीको प्रस्ताव बोनससँगै नगद लाभांश पनि
नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७९र८० को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । वैशाख ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार रूपैयाँको आधारमा ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । गत आर्थिक वर्ष सम्मको वितरणयोग्य मुनाफा ६७ करोड २६ लाख ६० हजार रूपैयाँ ६० करोड ८६ लाख ४३ हजार रूपैयाँ बराबरको बोनस शेयर र ३ करोड २० लाख ३३ हजार रूपैयाँ बराबरको नगद लाभांश कम्पनीले वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश नेपाल सरकार र नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ । यस कम्पनीले आगामी माघ मसान्तसम्म २० अर्ब रूपैयाँ चुक्तापूँजी कायम गर्नुपर्नेछ । ४ दशमलव ७५ प्रतिशत बोनस शेयरपछि कम्पनीको चुक्तापूँजी १३ अर्ब ४२ करोड २१ लाख ८६ हजार रूपैयाँ कायम हुनेछ ।