अर्थसचिव कृष्णहरि बास्कोटाले कुनै पनि निजी लगानी राष्ट्रियकरण नगर्ने बताएका छन् । ऐंचोपैंचो बचत तथा ऋण सहकारी संस्थाको वार्षिकोत्सवमा बास्कोटाले कुरा सो बताएका हुन् । खुला अर्थनीतिलाई निरन्तरता दिन आन्तरिक र बाह्य लगानीबीच विभेद नगर्न तथा आर्थिक विकासका लागि गरिएका विश्वव्यापी सम्झौताहरूको पालना गर्नका लागि राजनीतिक दलहरूले न्यूनतम साझा आर्थिक एजेण्डा तयार गर्नुपर्ने उनको भनाइ छ ।
उनका अनुसार सरकारी संस्थानमा सरकारको दायित्व घटाउँदै लैजाने, पूर्वाधार विकास एवम् उत्पादनमूलक लगानीमा राज्यले सुविधाहरू दिने र जनतामा जग्गाको नभई आवासको अधिकार सुनिश्चित गर्ने गरी न्यूनतम साझा कार्यक्रम जारी गर्न सकिन्छ । ‘सरकार करको दर नबढाई दायरा बढाउने योजनामा रहेको छ,’ उनले भने, ‘जसले स्वदेशी तथा विदेशी लगानीका लागि आकर्षित गर्नेछ ।’
वर्ष ८, अंक ३४९, शुक्रवार १५ भदौ, २०६९