काठमाडौं । निजीक्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा ल्याउने गरी दर्ता भएको एक विधेयकको प्रावधानमा सहमति जुटाउन संसदीय समितिलाई हम्मे परेको छ ।
निजीक्षेत्रमा हुने भ्रष्टाचारलाई पनि अपराधीकरण गर्ने र त्यसको अनुसन्धान र अभियोजन अख्तियारले गर्ने गरी दुईओटा भ्रष्टाचारसम्बन्धी ऐन संशोधन विधेयक संसद्मा दर्ता छ । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा अख्तियारलाई निजीक्षेत्रमा हुने भ्रष्टाचार हेर्न पाउने अधिकार दिन खोजिएको छ । अख्तियारले निजीक्षेत्रको अनियमिता हेर्दा लगानीको वातावरण बिग्रने भन्दै अख्तियारको क्षेत्राधिकारमा निजीक्षेत्र पर्न नहुने भन्दै लबिङ भइरहेको छ । राज्य व्यवस्था समितिमा पटकपटक यस दफामा दफावार छलफल भए पनि सहमति जुट्न नसक्दा समितिले निर्णय लिन सकेको छैन । अख्तियारको क्षेत्राधिकार विस्तारबारे सहमति जुटाउन गाह्रो भएपछि समिति सभापतिले उपसमिति बनाएर सहमति जुटाउने प्रयास गरेका छन् ।
- राज्य व्यवस्था तथा सुशासन समितिमा मतभेद कायमै
- उपसमिति बनाएर निर्णय लिने सभापतिको प्रयास
- अख्तियार निजीक्षेत्रमा जानु हुँदैन भन्नेमा आम सहमति देखियो : गृहमन्त्री लेखक
- उपसमितिको सुझावअनुसार निर्णय लिने तयारीमा छौं : समिति सभापति खतिवडा
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीवार बसेको बैठकमा गृहमन्त्री रमेश लेखकसँग छलफलपछि निजीक्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रावधानबारे सहमति जुटाउन उपसमिति बनाइएको समिति सभापति रामहरि खतिवडाले घोषणा गरे । सहमति जुटाउन बनाइएको उपसमितिमा कांग्रेसका ह्दयराम थानी, नेकपा (एमाले)का रघुजी पन्त, नेकपा (माओवादी केन्द्र)का हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका चन्दा कार्की, जनता समाजवादी पार्टीका अशोक राई, नेकपा (एकीकृत समाजवादी) पार्टीका राजेन्द्र पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका बुद्धिमान तामाङ र लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला छन् । उपसमितिको सुझावअनुसार निर्णय लिने तयारीमा सभापति खतिवडा छन् ।
समिति सभापति खतिवडाले निजीक्षेत्रमा अख्तियारलाई प्रवेश गर्न दिने किन नदिने भन्नेमा निर्णय गरी समितिमा सुझाव पेश गर्न उपसमितिलाई आग्रह गरेका छन् । उनका अनुसार समितिले उपसमितिले लिएको निर्णयका आधारमा प्रक्रिया अघि बढाउनेछ । बिहीवारको बैठकमा गृहमन्त्री लेखकले निजीक्षेत्रमा जानु हुँदैन भन्ने पक्षमा आम सहमति देखिएको बताए ।
समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले निजीक्षेत्रमा अख्तियारको क्षेत्राधिकार जाने कि नजाने ? जाने हो भने कतिसम्म जाने ? भन्ने कुरामा समिति स्पष्ट हुन जरुरी रहेको बताए ।
सरकारी पैसा निजीमा गएको छ भने अख्तियारले अनुसन्धान गर्नु पाउनुपर्नेमा सांसदहरू सहमत देखिएको उनको भनाइ छ । समग्र कम्पनीको हिसाबकिताब हेर्न पाउने कि नपाउने भन्नेमा पनि सांसदहरूले विस्तृत छलफल गरी निचोडमा पुग्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘समितिले गरेको निर्णय सरकारले बोक्छ । समितिले मज्जाले छलफल गरोस् भन्ने नै मेरो आग्रह हो । पहिला निजीक्षेत्रमा अख्तियारको क्षेत्राधिकार जाने कि नजाने ? जाने हो भने कतिसम्म जाने ? भन्ने कुरामा क्लियारिटी भयो भने भाषा लेख्न गाह्रो हुँदैन । किनभने पहिला त प्रिन्सिपल सेट गर्नुपर्छ ।’
अख्तियारले आफ्नो क्षेत्राधिकारभित्र रहेर पनि प्रभावकारी काम गर्न नसकिरहेको अहिले पनि गुनासो भइरहेको भन्दै उसलाई निजीक्षेत्र हेर्न दिन नहुने मत बलियो देखिन्छ ।
निजीक्षेत्रका प्रतिनिधि संस्थाहरूले पनि निजीक्षेत्रमा अख्तियार पस्न दिन नहुने पक्षमा लामो समयदेखि लबिङ गर्दै आएका छन् । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आफ्नै दायरा र सीमा छन् । निजीक्षेत्रमा आयोगले हेर्ने के हो ?’ नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले भने, ‘निजीक्षेत्रलाई नियमन गर्न छुट्टाछुट्टै कानून र निकायहरू छन् भने अख्तियारले किन हेर्नुपर्यो ?’