विराटनगर । चालू आर्थिक वर्ष (आव) मा नेपालबाट चिया निर्यात घटेको छ । भारतले शतप्रतिशत गुणस्तर परीक्षण गर्ने नाममा नेपाली चिया सीमाक्षेत्रका भन्सार बिन्दुमै रोकेपछि निकासी बढाउन चुनौती थपिएको छ । मेची भन्सार कार्यालय र भन्सार विभागको पछिल्लो ९ महीनाको तथ्यांक हेर्दा चालू आवको साउन–चैतमा चिया निकासी १७ दशमलव ८८ प्रतिशतले घटेको छ ।
चालू आवको ९ महीनामा २ अर्ब १८ करोड ८९ लाख २२ हजार रुपैयाँ बराबरको ९८ लाख ४ हजार ११ किलो चिया निकासी भएको छ । गत आवको सोही अवधिमा २ अर्ब ६६ करोड ५४ लाख १८ हजार रुपैयाँ मूल्यको १ करोड ३३ लाख ११ हजार ३ सय ४८ किलो चिया निकासी भएको थियो ।
चिया निर्यात घटिरहेकै बेला भारतले शतप्रतिशत गुणस्तर परीक्षण गर्नुपर्ने नियम लगाएर १७ ट्रक (झन्डै २ हजार टन) चिया मेचीपारि पानीटंकी नाकामा रोकेर राखेपछि किसान तथा व्यवसायीलाई उत्पादित चिया गोदाममै थन्किने चिन्ताले सताएको छ । यो चिन्ता किन पनि भएको छ भने गोदाममा अघिल्ला वर्षको चिया बाँकी रहँदै चियाको पहिलो मुना टिप्ने बेला भइसकेको छ ।
नयाँ बोटका कारण चिया उत्पादन बढिरहेको छ । तर, बजार सुनिश्चितताको अभावमा बढेको उत्पादन खपतबारे चिन्ता बढेको छ ।नयाँ बोटका कारण चिया उत्पादन बढिरहेको छ । तर, बजार सुनिश्चितताको अभावमा बढेको उत्पादन खपतबारे चिन्ता बढेको छ ।
वैशाख पहिलो सातादेखि चियाको पहिलो मुना टिपाइ शुरू हुन्छ । यसबाट अर्थाेडक्स चिया उत्पादन हुन्छ । अर्थोडक्स चिया बजारमा पाइने धूलो चिया (सीटीसी) भन्दा निकै महँगो हुन्छ । पहाडी क्षेत्रमा चियाको पहिलो मुना टिपाइ शुरू भइसकेको छ । निकासीमा आएको अवरोधले उत्पादित चियाको बजारबारे अन्योल उत्पन्न गराएको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले बताए । ‘चिया टिप्ने सिजन शुरू भइसकेको कारण किसान र व्यवसायीमा चिन्ता थपिएको छ,’ उनले भने ।
भारतीय क्षेत्रमा खडा भएका ट्रकलाई आइतवार पनि भारत प्रवेश गर्न दिइएको छैन । यो लट प्रवेश गर्नेबित्तिकै गोदाममा रहेको सय करोड मूल्यको चिया भारत पठाउने तयारीमा रहेको पराजुलीले बताए ।
उनका अनुसार नयाँ बोटका कारण चिया उत्पादन बढिरहेको छ । तर, बजार सुनिश्चितताको अभावमा बढेको उत्पादन खपतबारे चिन्ता बढेको उनले बताए ।
नेपाली चियाको सबैभन्दा ठूलो बजार भारत हो । त्यसैले नेपाली चियाको भविष्य भारतको नीतिमा अडेको हुन्छ । गत आव नेपालले ३ अर्ब ९३ करोड रुपैयाँको चिया निर्यात गर्दा ३ अर्ब ४३ करोडको भारत गएको थियो ।
भारतीय बजारमा अधिक निर्भरता घटाउने काम भने हालसम्म हुन सकेको छैन । नेपालबाट प्रमुख कृषि उत्पादनका रूपमा भारतलगायत विश्वका २२ देशमा अर्थोडक्स र सीटीसी चिया निकासी हुन्छ । अर्थोडक्स भारतलगायत तेस्रो मुलुक जान्छ भने सीटीसीको प्रमुख बजार भारत नै हो । ‘भारतबाहेक तेस्रो मुलुकको बजारमा हामी चिया बल्कमा पठाउन सक्दैनौं, फलस्वरूप भारतको विकल्पमा सहज बजार छैन,’ उनले भने, ‘त्यसैले सरकारले तत्कालै वार्ता गरी चिया निकासी सुचारु गराउनुपर्छ ।’
चिया उत्पादन बढी भएको र भारतले ल्याब परीक्षणलगायतमा गर्ने अनेक बहानाले अहिले पनि नेपाली सीटीसी चियाको सहज निकासी भारतीय बजारमा हुन नसकेको नेपाल चिया उत्पादक संघ महासचिव शिवकुमार गुप्ता बताउँछन् । ‘पोहोरभन्दा यो वर्ष चिया निकासी घटेको छ । जुन रफ्तारमा भारतीय बजारमा चिया जानुपर्ने हो त्यो छैन । अहिले किसान र व्यवसायी चिया तयार गरेर पनि गोदाममा थन्क्याउन बाध्य छन्,’ उनले भने ।
भारतले विभिन्न समयमा विभिन्न बहानामा नेपाली चियामाथि अवरोध खडा गर्दै आए पनि अघिल्लो ३ वर्षमा नेपाली चियाको निकासी लगातार बढेको देखिन्छ । चालू आवको ९ महीनामा भने निकासी ओरालो लागेको छ ।
झापाका किसान पर्वत डाँगी अहिले घरघरमै चिया स्टक रहेको बताउँछन् । उत्पादन लागत वृद्धि र भारतीय चिया जस्तै अक्शनमा भाग लिन नपाउने कारण नेपाली चिया जहिले पनि भारतीय व्यापारीको निगाहको मूल्यमा विक्री गर्नुपर्ने बाध्यता हुन्छ ।
नेपाली सीटीसी चियाको लागत प्रतिकेजी १६५ रुपैयाँ पर्छ । भारतीय व्यापारी ८५ रुपैपाँ किलोमै माग्छन् । जसले गर्दा यसपटक चिया विक्री गर्न नसकिएको किसानको भनाइ छ ।
झापा हल्दीबारीको पाराखोपी साना किसान चिया सहकारी संस्थामा आबद्ध डाँगी र उनको समूहका २५० बिगाहामा चिया बगान छ । उनीहरू वार्षिक ६ लाख केजीसम्म चिया विक्री गर्छन् । नेपाली चियाको गुणस्तर परीक्षण गर्न कोलकाता जानुपर्छ । निकासीमा धेरै किसिमका झन्झट छन् । त्यसैले सरकारले भारत सरकारसँग चियाका सबै अवरोध हटाउने गरी सम्झौता गर्यो भने मात्र समस्याको दीर्घकालीन समाधान निस्कने नेपाल टी प्लान्टर एशोसिएशनका अध्यक्ष उदय चापागाईंले बताए । नेपाली सीसीसी र अर्थाेडक्स चिया भारतीय व्यापारीले किनिसकेपछि अन्य चियामा मिसाउँछन् ।