भदौ २०, काठमाडौं । साउन महीनामा मात्रै निर्जीवन बीमा कम्पनीहरूले कुल रू. ४ अर्ब ४७ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् ।
बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १९ ओटा निर्जीवन बीमाकम्पनीहरुले उक्त बीमाशुल्क आर्जन गरेका हुन् । ती कम्पनीहरु मध्ये साउन महीनामा सबैभन्दा बढी बीमाशुल्क राष्ट्रिय बीमा कम्पनीले आर्जन गरेको छ ।
सो अवधिमा कम्पनीले रू. ८४ करोड २८ लाख बीमाशुल्क आर्जन गरेको हो । त्यसैगरी दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनीले रू. ३५ करोड २१ लाख बीमाशुल्क आर्जन गरेको छ ।
त्यस्तै ती कम्पनीमध्ये सबैभन्दा कम बीमाशुल्क प्रभु इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । कम्पनीले उक्त अवधिमा रू. १० करोड ३४ लाख आर्जन गरेको छ । त्यसैगरी दोस्रोमा सानिमा जनरल इन्स्योरेन्स कम्पनीले रू. १० करोड ३५ लाख बीमाशुल्क आर्जन गरेको छ ।
कुल बीमाशुल्क मध्ये प्रदेशवाइज सबैभन्दा बढी बाग्मती प्रदेशबाट रू.३ अर्ब २२ करोडभन्दा बढी बीमाशुल्क आर्जन भएको छ । १९ ओटा कम्पनीहरुको जारी बीमालेखको संख्या कुल २ लाख २१ ह्जार ६४२ रहेको छ । ती कम्पनीहरु मध्ये सबैभन्दा बढी जारी बीमालेखको संख्या नेको इन्सुरेन्स कम्पनीको रहेको छ ।
उक्त कम्पनीको जारी बीमालेखको संख्या २१ ह्जार ८९९रहेको छ । त्यसैगरी दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनीको जारी बीमा लेखको संख्या २० हजार ९१७ रहेको छ ।
स्रोत : बीमा समिति