पुस १४, काठमाडौं । व्यवसायीहरूले देश नै आयातमुखी बन्ने अवस्था आउँदा पनि सरकारले निर्यातलाई प्राथमिकता नदिएको गुनासो गरेका छन् ।
बिहीवार काठमाडौंमा भएको ऊनी फेल्ट उत्पादक तथा निर्यात सङ्घको आठौं वार्षिक साधारणसभामा बोल्ने व्यवसायीले उद्योगमन्त्री नवीन्द्रराज जोशी तथा मन्त्रालयका सचिवहरूसँग यस्तो गुनासो गरेका हुन् ।
फेल्ट व्यवसायी नरेशलाल श्रेष्ठले निर्यात प्रवद्र्धनका लागि सरकारले कुनै प्रयास नगरेकाले देश आयातमुखी भएको बताए । उनले नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई), नेपाल उद्योग परिसङ्घ (सीएनआई) जस्ता व्यवसायी सङ्घहरूले पनि निर्यातका मुद्दालाई उल्लेख्य रूपमा नउठाएपछि निर्यात जगत्का अवसरहरू सदुपयोग गर्न नसकेको बताए ।
उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकालले सरकारले निर्यातलाई ध्यान नदिँदा अर्थव्यवस्था असन्तुलित भएको बताए । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले लगानी सुरक्षा नभएकाले अत्यन्त राम्रो सम्भावना बोकेका व्यवसायले निरन्तरता पाउन नसकेको गुनासो गरे । उनले बैङ्कलाई ऋण तिर्नमात्र कसैले व्यवसाय नगर्ने भन्दै सरकारले व्यवसायीलाई सही रूपमा निर्देशित गर्नुपर्ने माग गरे । ‘सरकारले व्यवसायीलाई सघाउनुपर्यो, व्यवसायीले अन्तरराष्ट्रिय अवसरको सदुपयोग गर्नुप¥यो । अनिमात्र अर्थतन्त्र बलियो हुन्छ,’ उनले भने । त्यसैगरी, निर्यात सङ्घका अनुप मल्लले व्यापारघाटा १ः१२ हुनु भनेको चिन्ताजनक अवस्था भएको भन्दै सरकार निर्यातका मामिलामा संवेदनहीन भएको आरोप लगाए ।
व्यवसायीका समस्या तथा गुनासा सुनेपछि उद्योगमन्त्री जोशीले राजनीतिक समस्यालाई समस्याका रूपमा हेर्न नहुने तर्क गरे । ‘राजनीति त क्रमिक विकासको प्रक्रिया हो,’ मन्त्री जोशीले भने, ‘यसलाई समस्याको रुपमा हेर्न हुँदैन । तपाईंहरू के गर्दा निर्यात बढ्छ, त्यो काम गर्नुहोस् म सहयोग गर्छु ।’ खानी, गुणस्तर र ट्याक्सी सेवामा नीतिगत सुधारहरू भइरहेको उदाहरण दिँदै उनले स्वदेशमा काम गर्ने अवसर नै नदेख्ने चिन्तनमा परिवर्तन ल्याउनुपर्ने बताए ।
कार्यक्रममा हस्तकला महासङ्घका किरण ढङ्गोल, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका ईश्वरीप्रसाद घिमिरे, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका लगायतले धारणा राखेका थिए । कार्यक्रममा वर्षका उत्कृष्ट निर्यातकर्ताहरू विमेश्वर ह्याण्डीक्र्याफ्टका राजेश श्रेष्ठ, एभरेष्ट फेल्टका विनीता तिमिल्सिना, कल्पना क्र्याफ्टका कविता खड्का र एशियन ट्रेडर्सका सुरेन्द्रमान डङ्गोललाई सम्मान गरिएको थियो । व्यवसायीहरूले आउँदो पुस २२ गतेलाई निर्यात दिवसको रूपमा मनाउन लागेको बताएका छन् ।