काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार चालू आवको तेस्रो त्रैमाससम्म कम्पनी रू. २७ करोड ४९ लाखभन्दा बढी नोक्सानीमा रहेको छ । गत आवको तेस्रो त्रैमाससम्म पनि कम्पनी रू. ७ करोड ३८ लाख नोक्सानीमा थियो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जा र इम्पेरिमेन्ट चार्ज बढेकाले नोक्सानी बढेको हो ।
गत आवमा कम्पनीको निष्क्रिय कर्जा १० दशमलव ७२ प्रतिशत रहेकोमा चालू आवमा १८ दशमलव ५४ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीको इम्पेरिमेन्ट चार्ज गत आवमा रू. १३ करोड ३३ लाख रहेकोमा चालू आवमा रू. २८ करोड ४५ लाख पुगेको हो । इम्पेरिमेन्ट चार्ज बढेसँगै कम्पनीको सञ्चालन नाफा रू. २७ करोड ४९ लाख ऋणात्मक रहेको छ ।
त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा १३ प्रतिशत घटेको हो । गत आवमा कम्पनीले रू. १६ करोड ७० लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा रू. १४ करोड ४५ लाखमा झरेको छ ।
कम्पनीको चुक्तापूँजी रू. ८३ करोड ४३ लाख रहेको छ । त्यस्तै कम्पनीले जगेडामा रू. १३ करोड ३ लाख सञ्चित गरेको छ भने रिटेन्ड अर्निङ रू. ३८ करोड ४७ लाखभन्दा बढी ऋणात्मक रहेको छ । कम्पनी नोक्सानीमा रहेसँगै प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ९५ पैसा ऋणात्मक रहेको छ । त्यस्तै कम्पनीको तरलता अनुपात ३० दशमलव ४१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ६९ दशमलव ५१ रहेको छ ।