काठमाडौं । नख्खु खोलामा आएको बाढीले बगाएका दुई जनाको सकुशल उद्धार गर्ने व्यक्तिलाई महालक्ष्मी विकास बैंकले सम्मान गरेको छ ।
बैंकले आज (आइतवार) केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका ३३ वर्षीय चणिकलाल तामाङलाई नगद १ लाख रुपैयाँसहित सम्मान गरेको हो ।
तामाङले ललितपुर महानगरपालिका–१३ स्थित नख्खु खोलाले बगाएका राजु शाह र उनको परिवारको सदस्यको गत शनिवार सकुशल उद्धार गरेका थिए ।
बाढीको जोखिम हुँदाहुँदै पनि उद्धारका लागि देखाएको साहस र अठोटका लागि तामाङलाई सम्मान गरिएको बैंकले जनाएको छ । यस्ता कार्यले विपद्को समयमा नागरिक स्तरबाट सुरक्षित रूपमा उद्धार कार्यमा सहभागिता जनाउनसमेत हौसला मिल्ने विश्वास बैंकले लिएको छ ।