काठमाडौं । २०७९ असोजमा शुरू भएको नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रियाका सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।
नेपाल धितोपत्र बोर्डले आफ्नो वेबसाइटमार्फत धितोपत्र बजार सञ्चालनका लागि एकभन्दा बढी संगठित संस्थालाई अनुमति दिन उपयुक्त हुने वा नहुने सम्बन्धमा तयार गरिएको अध्ययन प्रतिवेदन, २०८१ मंगलवार सार्वजनिक गरेको हो ।
गत बिहीवार बसेको बोर्ड सञ्चालक समिति बैठकले नयाँ स्टक एक्सचेन्जका सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो । बोर्डका सहप्रवक्ता तोलाकान्त न्यौपानेले सञ्चालक समितिको निर्णयबमोजिम अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको जानकारी दिए ।
नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्ने या नगर्ने विषयमा थप अध्ययन गर्न सरकारले नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको थियो । उक्त अध्ययन समितिमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुजनकुमार आचार्य र अधिवक्ता सिजन गुरागाइं रहेका छन् ।
नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिनुपर्ने
समितिले निजी लगानीको नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स वितरण र पुरानो स्टक एक्सचेन्जको पुनः संरचना सिफारिश गरेको छ ।
अध्ययन समितिको प्रतिवेदनको सिफारिशमा विद्यमान धितोपत्र सम्बन्धी ऐन, २०६३ र यस ऐन बमोजिम बनेका नियमावली तथा निर्देशिकाहरूमा भएको व्यवस्थाबमोजिम निजीक्षेत्रको लगानीमा थप एक स्टक एक्सचेन्जलाई सञ्चालन अनुमति दिन उपयुक्त हुने उल्लेख छ ।
शक्ति सन्तुलन तथा नियमनको आधारभूत सिद्धान्तको आधारमा नियामक निकायकै स्वामित्व भएको संस्थाले बजार सञ्चालन गर्दा स्वार्थ बाझिन गई प्रभावकारी नियमन हुन नसक्ने भएकाले समेत नेपालमा एउटा नयाँ स्टक एक्सचेन्जको आवश्यकता देखिएको निष्कर्ष अध्ययन समितिले निकालेको छ ।
नयाँ स्टक एक्सचेन्जको अनुमति दिने सम्बन्धमा सूचना प्रकाशित गर्ने, आवेदन पेश गर्ने, आवश्यक कागजात संलग्न गर्ने, आवेदन र कागजातको विश्लेषण गर्ने, छनोट विधि र अंकभार निर्धारण गर्ने र इजाजत प्रदान गर्नेसम्मका सम्पूर्ण प्रक्रिया नियमसंगत र पारदर्शी हुनुपर्नेमा समितिले जोड दिएको छ ।
नयाँ स्टक एक्सचेन्जको प्रवेशले प्रतिस्पर्धा निम्त्याउने हुँदा प्रतिस्पर्धी वातावरणमा आफ्नो अस्तित्व जोगाउन सक्षम हुनका लागि पनि नेप्सेको पुनः संरचना आवश्यक रहेको समितिले औंल्याएको छ । थप स्टक एक्सचेन्जको प्रवेशपछिको परिदृश्यलाई प्रभावकारी नियमन गर्न सक्ने गरी बोर्डको क्षमता बढाउनुपर्ने विषय पनि प्रतिवेदनमा छ ।
तर, नयाँलाई लाइसेन्स दिँदा विभिन्न २० बुँदे मापदण्ड पालना गराउनुपर्ने सुझाव दिइएको छ ।
यस्ता छन् २० बुँदे मापदण्डः
चुक्ता पूँजी
अन्तरराष्ट्रियस्तरको आधुनिक धितोपत्र कारोबार प्रणालीमार्फत कारोबार सेवा दिनुपर्ने आवश्यक भएको परिप्रेक्ष्यमा त्यसका लागि पर्याप्त हुने गरी न्यूनतम चुक्तापूँजी कायम गरेको हुनुपर्ने । हाललाई धितोपत्रसम्बन्धी कानूनले तोकेको न्यूनतम चुक्तापूँजी ३ अर्ब रुपैयाँ कायम गरेको हुनुपर्ने तथा यस्तो न्यूनतम चुक्तापूँजी बेलाबेलामा नियामक निकायले तोकेबमोजिम कायम गर्नुपर्ने शर्त तोक्नुपर्ने ।
शेयर स्वामित्व
धितोपत्र बजार सञ्चालन नियमावली २०६४ को नियम १२ को उपनियम (४) को व्यवस्थालाई समेत दृष्टिगत गरी विश्वका अन्य देशहरूमा संस्थागत रूपमा सुशासन कायम गरेका संगठित संस्था तथा विकसित धितोपत्र बजारलाई रणनीतिक साझेदारका रूपमा भित्र्याएको संस्थालाई अनुमतिमा प्राथमिकता दिनुपर्ने । नयाँ स्टक एक्सचेन्जको स्वामित्वमा विविधीकरण हुने गरी धितोपत्र विनिमय बजारमा विशेष अनुभव एवं व्यावसायिक रूपमा दक्ष संस्थाको प्रवेशलाई अनुकूल हुने गरी दोस्रो बजार सञ्चालन गर्नुपर्ने ।
कारोबार प्रणाली
नयाँ अनुमति दिइने धितोपत्र बजारले फुल्ली अटोमेटेड इन्टरनेट बेस्ड ट्रेडिङ सिस्टम, अटोमेटेड क्लियरिङ एन्ड सेटलमेन्ट सिस्टम तथा अटोमेटेड सर्भिलियन्स सिस्टम सहितको अन्तरराष्ट्रिय स्तरमा प्रयोग भएको प्रविधि प्रयोग गर्न सक्ने क्षमता भएको सुनिश्चितता गराउनुपर्ने । कारोबार प्रणालीको गुणस्तर, प्रभावकारिता, विश्वसनीयता तथा प्राविधिक पक्षको आधिकारिक निकायबाट परीक्षण र पुस्ट्याइँ गराई कारोबार सञ्चालनका लागि मान्यता प्राप्त गरेको वा एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस (एपीआई) सहितको आदेश मिलान हुने कारोबार प्रणाली, लगानीकर्ता एप्स (इन्भेस्टर्स एप्स) नियमन निकायलाई दोस्रो बजार कारोबार गतिविधिको वास्तविक समय अनुगमन गर्न पहुँच उपलब्ध गराउने पद्धतिसहितको अन्तरराष्ट्रिय मापदण्डअनुरूपको स्वचालित विद्युतीय कारोबार प्रणाली स्थापना गर्नुपर्ने । विश्वका धेरै स्टक एक्सचेन्जहरूले प्रयोगमा ल्याएको प्रणाली अवलम्बन गर्नुपर्ने ।
सूचना प्रणाली
बजारमा कारोबार हुने वित्तीय सम्पत्तिसँग सम्बद्ध सबैखाले सूचनामा सरोकारवाला सबैको पहुँच स्थापित गर्ने सूचना प्रणाली र कारोबारको समयमै राफसाफका लागि सुदृढ राफसाफ कोष, अक्सन मार्केट, सेक्युरिटी बोरोइङ लेन्डिङ तथा इन्ट्राडे ट्रेडिङको समुचित व्यवस्था भएको आधुनिक, सशक्त सूचनाप्रणालीको सुनिश्चितता हुनुपर्ने ।
बजार पूर्वाधार
धितोपत्रको सूचीकरण, कारोबार, राफसाफ तथा फर्छ्योट र कारोबारसम्बन्धी सूचनालाई सहज र सरल रूपमा छिटोछरितो, आधुनिक बनाउँदै देशव्यापी रूपमा धितोपत्र कारोबार सञ्जाल विस्तार गर्न सक्ने गरी आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने ।
भौतिक पूर्वाधार
धितोपत्रको सूचीकरण, कारोबार राफसाफ तथा फर्छ्योट एवं धितोपत्र व्यवसायीको प्रभावकारी सुपरिवेक्षण गर्न सक्ने र कुनै पनि समयमा आई पर्न सक्ने भवितव्य वा दुर्घटनाबाट तथ्यांक नष्ट हुन नदिन महŒवपूर्ण सूचनाहरू सुरक्षित राख्न कम्तीमा छुट्टाछुट्टै भूकम्पकीय क्षेत्रमा सूचना भण्डारण केन्द्र तथा डिजास्टर रिकोभरी साइट, ब्याकअप सर्भर तथा कारोबारको निरन्तर अनुगमनको व्यवस्था र कारोबार राफसाफ गृह र यसका सदस्यहरूले धितोपत्र कारोबारबाट सृजित सम्पूर्ण दायित्व पूरा गर्न सक्ने सुनिश्चित हुन सकिने गरी राफसाफ तथा फर्छ्योटसहितको भौतिक पूर्वाधारको व्यवस्था गर्नुपर्ने ।
उपकरणमा विविधीकरण
नयाँ स्थापना हुने स्टक एक्सचेन्जले हाल धितोपत्र बजारमा कारोबार भइरहेका परम्परागत उपकरणहरूको कारोबार सञ्चालन गर्नुका साथै विकसित धितोपत्र बजारमा प्रचलनमा ल्याइएका नयाँ तथा वैकल्पिक उपकरणहरू जस्तैः इन्डेक्स फन्ड, डेरिभेटिम, फ्युचर अफसनलगायत धितोपत्र औजारहरूको समेत कारोबार गर्न सक्ने क्षमता हुनुपर्ने ।
जनशक्ति
प्रमुख कार्यकारी अधिकृतदेखि तल्लो तहसम्मको जनशक्तिको आवश्यकता अनुसारको अनुभव तथा न्यूनतम शैक्षिक योग्यता तोक्नुपर्ने । न्यूनतम शैक्षिक योग्यता तोक्दा व्यवसायको प्रकृति र मर्म बुझेको र सम्बद्ध विषयमा दखल भएको व्यक्तिलाई नियुक्ति तथा मनोनयन गर्न सहयोगी हुने कानूनी र संरचनात्मक संयन्त्रको विकास गर्ने । सूचनाप्रविधि, व्यावसायिक निरन्तरता, सञ्चालन जोखिम, क्लियरिङ एन्ड सेटलमेन्ट, धितोपत्र बजारका विविध उपकरणहरू बारेमा जानकार र तालिम प्राप्त जनशक्तिको व्यवस्थापन गर्न सक्ने नेतृत्व विकास र जनशक्ति उत्तराधिकारी योजनासहितको जनशक्ति व्यवस्थापन प्रणाली अवलम्बनको निश्चितता हुनुपर्ने ।
सञ्चालक समिति
योग्य, अनुभवी र न्यूनतम शैक्षिक योग्यता भएको व्यक्तिलाई सञ्चालक बनाउनुपर्ने, सञ्चालकले गर्न हुने र नहुने कार्यहरू तोक्नुपर्ने, कम्तीमा एक जना महिलासहित कम्तीमा पाँच जनाको सञ्चालक समिति बनाउने र बहुमत सदस्य स्वतन्त्र व्यक्ति हुनुपर्ने ।
संरचनागत पूर्वाधार
लगानीकर्ता संरक्षण कोष, राफसाफ कोष, अक्सन मार्केट, सेक्युरिटी लेन्डिङ एन्ड बरोइङ आदिको सुदृढ व्यवस्था न्यूनतम रूपमा पूरा गर्नुपर्ने गरी आवश्यक पूर्वाधारको व्यवस्था तोक्नु उपयुक्त हुने ।
सम्भाव्यता अध्ययन प्रतिवेदन
धितोपत्र बजार सञ्चालन गर्न अनुमतिका लागि आवेदनकर्ताले धितोपत्र विनिमय बजारको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अवस्था र त्यसको संक्षिप्त समीक्षासहित नेपालको समष्टिगत आर्थिक अवस्थाको विश्लेषण गरी धितोपत्र विनिमय बजारको व्यावसायिक योजना, व्यावसायिक प्रक्षेपण र आर्थिक तथा वित्तीय विश्लेषण आदि स्पष्ट खुल्ने गरी धितोपत्र विनिमय बजारको सम्भाव्यता अध्ययन प्रतिवेदन पेश गरेको हुनुपर्ने ।
संस्थागत सुशासन
नयाँ स्टक एक्सचेन्ज लगानीकर्ताप्रति जवाफदेही एवं पूर्ण संवेदनशील, प्रचलित नियम कानूनको पूर्ण पालना, अन्य सरोकारवाला पक्षहरू प्रति उत्तरदायी रहने गरी सेवा सञ्चालन गर्ने तथा संस्थागत सुशासनको संस्कृति कायम गर्ने गरी व्यवस्था गर्न उपयुक्त हुने ।
स्वनियमन क्षमता
विश्व धितोपत्र बजारमा विनिमय बजार एउटा स्वनियमन निकायको रूपमा सञ्चालित हुने गरेको स्थितिलाई दृष्टिगत गर्दै नेपालमा स्थापना तथा सञ्चालन हुने नयाँ स्टक एक्सचेन्ज पनि धितोपत्र कारोबारमा संलग्न धितोपत्र व्यवसायीहरूको प्रभावकारी सुपरिवेक्षण गर्न सक्ने क्षमता भएको संस्था अर्थात् स्वनियमन संस्थाको रूपमा सञ्चालन हुने व्यवस्था गर्न उपयुक्त हुने ।
सामाजिक उत्तरदायित्व
धितोपत्र कारोबारमा संलग्न धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्थाको निरन्तर व्यावसायिकता अभिवृद्धि र लगानीकर्तामा आवश्यक ज्ञान, व्यावसायिक विकास तथा वित्तीय साक्षरता प्रदान गर्नुपर्ने व्यवस्था तोक्न उपयुक्त हुने देखिन्छ ।
सेवाको विस्तार
मुलुकले संघीय संरचना अवलम्बन गरेको परिप्रेक्ष्यमा नयाँ स्थापना हुने स्टक एक्सचेन्जले आफ्नो सेवालाई सबै स्थानीय तहका लगानीकर्ताले लगानी गर्ने, भुक्तानी गर्ने, फरफारकको सेवा प्राप्त गर्न सक्ने सुनिश्चितता हुने पर्याप्त आधार उपलब्ध गराउनुपर्ने ।
निर्देशिका
नेपालको धितोपत्र बजारसम्बन्धी प्रचलित कानूनबमोजिम धितोपत्र विनिमय बजार सञ्चालन स्वीकृति प्रदान गर्ने प्रक्रियालाई व्यवस्थित पारदर्शी एवं विश्वसनीय बनाउन धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११८ को उपदफा (१) को खण्ड (ङ) को व्यवस्थाबमोजिम धितोपत्र बजार सञ्चालन अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्थासम्बन्धी निर्देशिका बनाई लागू गर्न उपयुक्त हुने ।
संस्थापक कम्पनीको क्षमता
स्टक एक्सचेन्ज स्थापना गर्न चाहने कम्पनीको संस्थापक कम्पनीहरू नेपालको प्रचलित कम्पनी कानूनअनुसार लगानी गर्न योग्य रहेको हुनुपर्ने तथा नेटवर्थ सकारात्मक रहेको हुनुपर्ने ।
रणनीतिक साझेदार
कुनै विदेशी स्टक एक्सचेन्जलाई रणनितिक साझेदार ल्याएको वा भविष्यमा ल्याउन सक्ने क्षमता भएको हुनुपर्ने मापदण्ड राख्नुपर्ने ।
सर्वसाधारणमा शेयर जारी गर्ने प्रतिबद्धता
स्टक एक्सचेन्जले चुक्ता पूँजीको कम्तीमा ३० प्रतिशत साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने प्रतिबद्धता गरेको हुनुपर्ने व्यवस्था गर्नुपर्ने ।
प्रचलित कानूनको परिपालना
सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी गर्ने कार्यलाई निवारण गर्ने सम्बन्धमा ग्राहक पहिचान गर्ने र लगानीको स्रोत खुलाउनुपर्ने तथा शंकास्पद कारोबार पत्ता लगाउने संयन्त्र हुनुपर्ने । साथै प्रचलित कानूनबमोजिमको व्यवस्था परिपालना गरेको हुनुपर्ने ।