काठमाडौं । न्यूबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस्को नवौं संस्करण आगामी साता हुने भएको छ । न्यू बिजनेश एज लिमिटेडको आयोजनामा आगामी असार १२ गते बिहीवार हुन लागेको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ ।
एशियन पेन्ट्स् टाइटल स्पोन्सर रहेको कार्यक्रममा लाइफटाइम एचिभमेन्टसहित विभिन्न १० विधामा अवार्ड वितरण हुनेछ ।
व्यावसायिक क्षेत्रमा लामो समय योगदान पुर्याउने व्यक्तित्वलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ । यसबाहेक वर्षभरिमा विभिन्न क्षेत्रमा उत्कृष्ट व्यावसायिक प्रदर्शन गरेबापत ‘बेस्ट म्यानेज्ड कम्पनी’, ‘बेस्ट म्यानेज्ड कमर्सियल बैंक’, ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’, ‘बेस्ट म्यानेज्ड फाइनान्स कम्पनी’, ‘बेस्ट बैंक इन डिजिटल फाइनान्सियल सर्भिसेज’, ‘बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी’, ‘बेस्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी’, ‘बेस्ट म्यानेज्ड आईटी कम्पनी’ र ‘स्पेशल रिकग्निसन फर पब्लिक इन्टरप्राइजेज’ विधामा अवार्ड वितरण हुने आयोजकले बताएको छ ।
विभिन्न क्षेत्रका विज्ञ सम्मिलित स्वतन्त्र निर्णायक मण्डलहरूले चरणबद्ध मूल्यांकनपछि अवार्ड पाउने संस्था र व्यक्तिको छनोट अन्तिम चरणमा पुर्याएको आयोजकले जनाएको छ । मूल्यांकनको मापदण्ड र विधि निर्णायक मण्डलले नै तयार पारेको आयोजकको भनाइ छ । कन्क्लेभमा ‘ड्राइभिङ ग्रोथ थ्रु रिफर्म’ विषयमा प्यानलसहितको छलफल कार्यक्रम समेत तय गरिएको छ ।
कार्यक्रममा मुख्य वक्ता उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका अध्यक्ष रामेश्वर खनाल छन् । ‘ड्राइभिङ ग्रोथ थ्रु रिफर्म’ विषयको प्यानल छलफलमा संघीय सांसद तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जब्बोर कायुमोभ, श्रीनगर एग्रो ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक मौसमी श्रेष्ठ, प्रविधि उद्यमी तथा लिपफ्रग टेक्नोलोजीका संस्थापक बालकृष्ण जोशी रहनेछन् ।
प्यानल छलफलको सहजीकरण अधिवक्ता सेमन्त दाहालले गर्नेछन् ।
एशियन पेन्ट्सका अतिरिक्त कार्यक्रम प्रायोजकहरूमा कर्भ इभी, एशियन लाइफ इन्स्योरेन्स कम्पनी, एनआईएमबी एस क्यापिटल, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक, निक्षेप तथा कर्जा सुरक्षण कोष, एनएलजी इन्स्योरेन्स कम्पनी, एस्युरेन्स इन्कर्पोरेशन, ग्रिन भ्याली रिसोर्ट, फोन पे, नेपाल एयरलाइन्सलगायत रहेका छन् । कार्यक्रमको व्यवस्थापन भोग एड एन्ड इभेन्ट म्यानेजमेन्टले गर्दै छ ।