काठमाडौं । नेपालको पहिलो पुस्ताका पर्यटन व्यवसायीमध्येका एक वसन्तराज मिश्रको निधन भएको छ । टेम्पल टाइगर ग्रूप एन्ड कम्पनीका संस्थापकसमेत रहेका मिश्रको उपचारका क्रममा आइतवार बिहान काठमाडौंमा निधन भएको परिवारले जानकारी दिएको छ । मिश्र ७१ वर्षका थिए । मिश्रको आइतवारै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि भएको छ ।
आफ्नो जीवनको ४० वर्ष नेपालको पर्यटन प्रवर्द्धन र नेपाललाई ‘हाई इन्ड’ पर्यटकीय गन्तव्यका रूपमा विश्व समुदायमा चिनाउन खर्चिएका उनको निधन ब्रेन ह्यामरेज र डेंगु उपचारका क्रममा निधन भएको हो ।
उनको निधनले सिंगो पर्यटन क्षेत्रमा अपूरणीय क्षति पुगेको पर्यटन व्यवसायी तथा उनका नजिकका मित्र बताउँछन् । पर्यटनका विभिन्न संस्था जन्माउनेदेखि निजीक्षेत्रको छाता संस्थामध्येको एक नेपाल उद्योग परिसंघका उपाध्यक्षसम्म भए उनी । मिश्र सन् २०१३ देखि २०१६ सम्म परिसंघको उपाध्यक्ष थिए । परिसंघले ४ दशकभन्दा बढी समय पर्यटन क्षेत्रमा पुर्याएको योगदान अतुलनीय भएको भन्दै मिश्रको निधनमा गहिरो दु:ख प्रकट गरेको छ ।
खासगरी नेपालमा वाइल्ड लाइफ र कन्जरभेशन पर्यटनका साथै हाई इन्ड पर्यटन प्रवर्द्धनमा उनको नाम अग्रपंक्तिमा आउने गर्छ । नेपाल पर्यटन बोर्डको संस्थापक सदस्यसमेत रहेका मिश्र अन्तरराष्ट्रिय स्तरका पर्यटन प्रवर्द्धन गर्ने संस्थाको कार्यकारी पदसम्म पुगेका थिए । २०१६ सालमा बोर्ड स्थापना भएको हो । त्यसबेला मिश्र बोर्डको संस्थापक सदस्य नियुक्त भएका थिए ।
मिश्रले प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) इन्टरनेशनलका पूर्वसचिव तथा कोषाध्यक्षका साथै पाटा नेपाल च्याप्टरका अध्यक्ष भएर काम गरेका थिए ।
भेन्चर ट्राभल्स कम्पनीका प्रबन्ध निर्देशक हुँदाका बखत उनी सन् १९९४–१९९६ सम्म पाटा नेपालका अध्यक्ष थिए । उनले एशोसिएशन अफ टुर अपरेटर्स संस्था पनि स्थापना गरेका हुन् ।नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी सन् २००० मा पर्यटन बोर्डमा आफू मिश्रसँगै प्रवेश गरेको सम्झन्छन् । ‘उहाँ बोर्डको सदस्य हुनुहुन्थ्यो, म पनि सँगसँगै प्रवेश गरेको हो,’ त्यो बेलादेखि मिश्रलाई चिनेका जोशीले भने, ‘उनले जहिले पनि उच्च मूल्य (हाई भ्यालु) पर्यटनलाई नै प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुहुन्थ्यो । अर्कोतर्फ उहाँ पर्यटनका धेरै संस्थाको नेतृत्व गर्ने, राज्यका पर्यटनसम्बन्धी नीति योजनामा सघाउनेदेखि अन्तरराष्ट्रिय स्तरमा राम्रो नेटवर्क भएको व्यक्तित्व हुनुहुन्थ्यो ।’
जोशीका अनुसार मिश्र नेपाल पर्यटनको ठूलो सम्भावना बोकेको मुलुक भएकाले पूर्वाधार र प्रवर्द्धनको काममा थप लगानी गरे १ करोडसम्म विदेशी पर्यटक भित्त्याउन गाह्रो नहुने बताउँथे । मिश्र परिवारको छिमेकी र मित्रसमेत रहेका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पर्यटन क्षेत्रमा यत्तिको योगदान दिएको मान्छे शायदै भएको टिप्पणी गर्छन् । नेपाली पर्यटन क्षेत्रको वैभव विश्व समुदायमा चिनाउने मिश्र स्रोतव्यक्ति पनि भएको उनको भनाइ छ । उनका योजना र परियोजनालाई नजिकबाट हेरेका श्रेष्ठ उनलाई एउटा महत्त्वाकांक्षी, उद्यमशील, अथक परिश्रम गर्ने जेहेनदार व्यक्तिका रूपमा चिन्छन् ।
पाटा नेपालका उपाध्यक्ष सुमन पाँडेले मिश्र देशका ८–१० जना सबैभन्दा महत्त्वपूर्ण पर्यटन व्यवसायीमध्ये एक रहेको बताए । ‘उहाँ नेपालमा वन्यजन्तु पर्यटनलाई लोकप्रिय बनाउने पहिलो पुस्ताको पर्यटन व्यवसायी र पहिलो पुस्ताको पर्यटन विज्ञसमेत हुनुहुन्थ्यो,’ पाण्डेले भने, ‘उहाँभन्दा अगाडि नेपालको पर्यटनविज्ञ मूलत: विदेशी हुन्थे । नेपालको पर्यटन क्षेत्रका लागि यो ठूलो क्षति हो ।’