काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आजदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको छ ।
यस कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोेन)बाट सर्वसाधारणका लागि आफ्नो जारी पूँजीको ३० प्रतिशत दरले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गर्न माघ ३ गते अनुमति पाएको हो । सर्वसाधारणमा जारी हुने कुल कित्ता शेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत शेयर निष्कासन गर्नुपर्ने व्यवस्थाबमोजिम कम्पनीले १ लाख ८० हजार कित्ता शेयर निष्कासन गरेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सम्पूर्ण कित्ता शेयर बाँडफाँट भएमा कम्पनीले दोस्रो चरणमा ९० हजार कित्ता सामूहिक लगानीकोष र ५४ हजार कित्ता कम्पनीका कर्मचारीलाई बाँडफाँट गरी बाँकी १४ लाख ७६ हजार कित्ता भने सार्वजनिक निष्कासनमा ल्याउनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था छ ।
यो कम्पनी औषधि उत्पादन तथा वितरणसम्बन्धी कार्य गर्ने कम्पनी हो । स्थानीय स्रोत र साधनको उपयोग गर्ने गरी यो कम्पनी स्थापना भएको हो । एलोपेथिक तथा आयुर्वेदिक औषधिहरू उत्पादन तथा आयात गरी विक्री वितरण एवम् प्रवर्द्धन गर्ने कार्य २०८० चैतदेखि गर्दै आएको जानकारी कम्पनीले दिएको छ ।