तेहरान (इरान) । इरानले पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन (ओपेक) विघटन हुन सक्ने चेतावनी दिएको छ । इरानका तेलमन्त्री बिजान जंगनेहले ओपेकका मुलुक संगठनका अन्य मुलुकको विरुद्धमा देखिएकाले ओपक विघटन हुने खतरामा पुगेको बताएका हुन् ।
साउदी र युनाइटेड अरब इमिरेट्स (यूएई) को विषयमा सार्वजनिक भएको धारणासँगै इरानले यस्तो प्रतिक्रिया दिएको हो । बिहीवार अमेरिकाले प्रतिबन्धमा थप कडाइ गर्दै इरानको तेल निर्यात घटाउन साउदी अरब र यूएईले सहयोग गर्ने बताएको थियो । गत बिहीवार तेहरानमा ओपेकका महासचिव मोहम्मद बार्किन्डोसँगको कुराकानीपछि बिजानले यदि ओपेकले इरानमाथिको संकट समाधानका लागि सहयोग नगरे इरान ओपेकबाट बाहिरिने बताएका थिए ।
गत नोभेम्बरबाट शुरू भएको अमेरिकी प्रतिबन्धका कारण अहिलेसम्म इरानको तेल निर्यात प्रतिदिन १० लाख ब्यारेल घटिसकेको छ । बिहीवारदेखि अमेरिकाले इरान प्रतिबन्धमा प्रमुख ८ मुलुकलाई दिएको तेल खरीदको छूट पनि हटाएको छ । यससँगै इरानको तेल निर्यात आगामी दिनमा थप घट्न सक्ने अनुमान छ । ओपेक तथा उसका सहयोगी मुलुकबीच आगामी जुन २५ देखि २६ सम्म भियनामा बैठक बस्दै छ । यो बैठकमा तेल निर्यातको विषयमा वार्ता हुनेछ ।
गत जनवरीदेखि ओपेक र उसका सहयोगी मुलुकले तेल निर्यातमा अंकुश लगाउँदै आएका छन् । यसअघि कतारले पनि ओपेक छाड्ने निर्णय गरेको थियो । यसैबीच, इरानका राष्ट्रपति हसन रौहानीले अमेरिकी प्रतिबन्धलाई तेलकै माध्यमबाट रोक्नुपर्ने बताएका छन् । तेल निर्यात जारी राख्नुका साथै तेलबाहेकको निर्यात बढाएर अमेरिकी प्रतिबन्धको प्रतिरोध गरिने रौहानीको भनाइ छ । उनले प्रतिबन्धलाई रोक्न उत्पादनमा जोड दिनुपर्ने उल्लेख गरेका छन् । एजेन्सी