काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ दशमलव ५६ प्रतिशत बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीले असार ३ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर असार २४ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराएको हो । कम्पनीले वार्षिक साधारण सभाले पारित गरेको २१ दिनभित्र बोनस शेयर सूचीकृत गराउन सफल भएको हो ।
उक्त बोनस शेयर बापतको ६ लाख ७० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएसँगै सोमवारदेखि कारोबारयोग्य हुनेछ ।
कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट रू. ४९ करोड ४० लाख चुक्ता पूँजीको आधारमा बोनस शेयर वितरण गरेको हो । बोनसपछि कम्पनीको चुक्ता पूँजी रू. ५६ करोड १० लाख कायम भएको छ ।
बोनससँगै यस वर्ष कम्पनीले बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशतले हुन आउने रू. ३५ लाख २६ हजार ३१५ बराबर नगद लाभांशसमेत वितरण गरेको छ । यसर्थ बोनस शेयर सम्बन्धित शेयरधनीहरूले आफ्नो हितग्राही खातामा कर जम्मा नगरी प्राप्त गर्नेछन् । सोमवारदेखि कारोबारयोग्य हुने कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीहरूले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।