काठमाडौं । पोखरा फाइनान्स लिमिटेड (Pokhara Finance Limited) ले पुस ३० गते सम्पन्न २६औं वार्षिक साधारण सभा (Annual General Meeting) बाट पारित गरेको बोनस शेयर (Bonus Share) वितरण गर्न शुरु गरेको छ ।
कम्पनीले ४ प्रतिशत बोनस शेयर धितोपत्र दोस्रो बजारमा चैत ३० गते बोनस शेयर सूचीकृत गराई सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गर्न शुरु गरेको हो ।
यस वर्ष कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ सम्मको मुनाफाबाट ४ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश (Cash Dividend) वितरण गरेको हो ।
साधारण सभा (AGM) प्रयोजनका लागि कम्पनीले पुस १९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश (Dividend) प्राप्त गरेका छन् ।
पुस १८ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरूको हकमा कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का जनाई जम्मा गरिएको कम्पनीको भनाइ छ । कर्जा राफसाफ भइसकेको भए फुकुवा गर्नसमेत कम्पनीले बताएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड छ ।