काठमाडौं । नेप्से परिसूचक लगातार सातौं दिन घटेको छ । मंगलवार १ दशमलव १७ प्रतिशत घटेर नेप्से २ हजार ७१९ दशमलव २० विन्दुमा झरेको छ ।
सात कारोबार दिनमा नेप्से ६ दशमलव ०४ प्रतिशत घटेको छ । यसअघि बजार लगातार ९ कारोबार दिन बढेको थियो ।
नेप्से स्वभाविक करेक्सनमा गएको भए पनि पछिल्ला दिनमा देखिएको राजनीतिक अस्थिरताले बजारमा विक्रेता हाबी भएको एक लगानीकर्ताले बताए । गत आइतवार राजावादीहरूले गरेको सडक प्रदर्शनले राजनीतिक अन्योलता बढेपछि त्यसको असर शेयर बजारमा केही हदसम्म परेको ती लगानीकर्ताको भनाइ छ ।
बजार घट्दा पनि विकास बैंक समूहको सूचक भने १ दशमलव ९३ प्रतिशत बढेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ७१ प्रतिशत, फ्लोट इन्डेक्स १ दशलमव ०४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ६९ प्रतिशत घटेको छ ।
यस दिन ३०३ धितोपत्रको १ करोड ५५ लाख ५९ हजार ६८३ कित्ता शेयर ९२ हजार ३१ पटकमा रू. ८ अर्ब ३९ करोडभन्दा बढीको कारोबार भएको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये महालक्ष्मी विकास बैंकको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९८ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४४६ दशमलव ४० पुगेको छ । शेयर मूल्य सर्वाधिक बढ्ने (प्रतिशतका आधारमा) कम्पनीको सूचीमा दोस्रोमा विन नेपाल लघुवित्त वित्तीय संस्था छ । कम्पनीको शेयर मूल्य ८ दशमलव ८० प्रतिशत बढेर रू. ३ हजार ८०८ कायम भएको छ ।
मंगलवार सबैभन्दा बढी नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ६ दशमलव ६९ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार २७३ मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने (प्रतिशतका आधारमा) सूचीमा दोस्रोमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था छ । कम्पनीको शेयर मूल्य ५ दशमलव ३६ प्रतिशत घटेर रू. १ हजार ७४८ कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा हिमालयन रिइन्स्योरेन्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ५८ करोड ६५ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार १८ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नेपाल रिइन्स्योरेन्स कम्पनी छ । कम्पनीको रू. ५३ करोड ३६ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।
आज कारोबारमा आएका १३ ओटा समूहगत सूचकमध्ये विकास बैंक समूहको सूचक १ दशमलव ९३ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबैको सूचक घटेको छ । तीमध्ये उत्पादन तथा प्रशोधन समूहको सूचक सबैभन्दा बढी २ दशमलव ४९ प्रतिशत घटेको छ ।