एडवार्ड एन वुल्फ
थोमस पिकेट्टीको पुस्तक ‘क्यापिटल इन दी ट्वाण्टी फष्ट सेण्टुरी’ माथिको चर्चा शायद केही कम भएको छ, तर यसका निष्कर्षहरू माथिको विश्लेषण पूरा हुन निकै समय लाग्ने देखिन्छ ।
पुस्तकले पैतृक सम्पत्तिबारे गरेको बहसबारे नै विचार गरांै । समयक्रमसँगै परिवारिक सम्पत्तिमा पैतृक सम्पत्तिको अंश बढिरहेको कुरालाई यसमा जोड दिइएको छ । यो चिन्ताजनक कुरा हो, किनभने यसको अर्थ सम्पत्तिको असमानता सधंै बढिरहनेछ भन्ने हो । तर, यो कुरा सही हो त ?
विरासतमा प्राप्त पैतृक सम्पत्ति भन्नेबित्तिकै धेरै मानिस त्यसलाई नैतिक रूपले नराम्रो भन्ठान्छन् । उनीहरू यसलाई रकफेलरर्स एवम् भण्डर्विल्टहरूसँग जोड्छन्, जसको अथाह सम्पत्तिले पुस्तौंपुस्तालाई थेगिरहेको छ । अनि ‘ट्रष्ट–फण्ड बेबिज’ (बाबुबाजेको सम्पत्तिमा रजाइँ गर्ने नानीबाबुसाहेबहरू)को पनि कुरा आँउछ । यसले प्रशस्त पैतृक सम्पत्तिका कारण जिन्दगीभर काम गर्नै पर्दैन ।
‘सम्पत्ति हस्तान्तरण’ भनेर परिचित पैतृक सम्पत्ति एवम् उपहार दुवैको वितरण असमान हुने भएकाले आलोचकहरूको भनाइ ठीकै हो । सन् २००७ मा अमेरिकाका करीब २० प्रतिशत परिवारले मात्रै ‘सम्पत्ति हस्तान्तरण’ पाएका थिए । सामान्यतया ‘सम्पत्ति हस्तान्तरण’ पाउने सबैको आम्दानी उच्च नै हुन्छ र उनीहरू उपल्लो धनी वर्गका हुन्छन् । धनाढ्य युवाका आमाबाबु पनि सम्पत्तिवालै हुन्छन्, अनि उनीहरूले आफ्ना गरीबतम समकक्षीहरूले भन्दा पैतृक धन पनि धेरै नै प्राप्त गर्छन् ।
त्यसैगरी, सम्पत्ति हस्तान्तरण पाउनेहरूबीच पनि ठूलो असमानता छ । सन् २००७ मा जम्मा ७ दशमलव ४ प्रतिशत यस्ता लाभग्राहीहरूले मात्रै १० लाख डलरभन्दा बढि पाएका थिए । शीर्ष १ प्रतिशतले कुल हस्तान्तरित सम्पत्तिमध्ये ३५ प्रतिशत पाए भने शीर्ष २० प्रतिशतले ८४ प्रतिशत प्राप्त गरे । अर्को शब्दमा भन्नुपर्दा, सम्पत्ति हस्तान्तरण पाउने परिवारको खुद मूल्य (नेट वर्थ) जति असमान हुन्छ लगभग त्यत्तिकै असमान हुन्छ सम्पत्ति हस्तान्तरण पनि ।
तर, पारिवारिक सम्पत्तिको बढ्दो अंश पैतृक सम्पत्ति भएको एवम् धनको असमानता बढाउनमा पैतृक सम्पत्ति जिम्मेवार भएको भन्ने पिकेट्टीको शोधलाई भने यी आँकडाहरूले पुष्टि गर्दैनन् । वास्तवमा, अमेरिकाको फेडरल रिजर्भ बोर्डले हरेक ३ वर्षमा लिएको सन् १९८९ देखि २०१० सम्मको ‘सर्वे अफ कञ्जुमर फिनान्स’ नामक सर्वेक्षणका आँकडाहरू पिकेट्टीका यी दुवै दाबीसँग बाझिन्छन् ।
त्यस अवधिमा पैतृक सम्पत्तिको औसत मूल्य (स्थिर मूल्यमा) २४ प्रतिशतले मात्रै बढेको थियो । जसको अर्थ हो, वार्षिक १ प्रतिशतको वृद्धिदर । यो दर खुद मूल्य (नेट वर्थ) मा भएको १ दशमलव ७ प्रतिशतको वार्षिक वृद्धिभन्दा कम हो । यसको अर्थ के हो भने वास्तवमा सम्पत्ति हस्तान्तरणको अंश कुल सम्पत्तिको खुद मूल्यको २९ प्रतिशतबाट २६ प्रतिशतमा झरेको छ ।
त्यसैगरी धनी व्यक्तिको सम्पत्तिको खुद मूल्यमा हस्तान्तरणबाट प्राप्त सम्पत्तिको खुद मूल्यको अंश औसतमा २० प्रतिशतभन्दा कम छ । मध्यम वर्गको हकमा भने यो अनुपात निकै बढी अर्थात् १ तिहाइ छ । र, १ प्रतिशत असाध्य धनीहरूको हकमा भने यस्तो अनुपात सन् १९८९ बाट २०१० सम्ममा २३ प्रतिशतबाट तीव्ररूपले घटेर ११ प्रतिशतमा पुगेको छ ।
यस गिरावटमा थुप्रै कारकले योगदान गरेका छन् । त्यसमध्ये आयु वृद्धि एक हो । आयु बढेका कारणले वसियतको वार्षिक सङ्ख्यामा कमी आएको छ एवम् मानिसहरू आफ्नो जीवनका थप वर्षका लागि (बढ्दो स्वास्थ्य–हेरचाह खर्चसमेत) रकमको व्यवस्था गर्न बाध्य छन् । साथै, यस अवधिमा विशेषगरी धनाढ्यहरूले परोपकारी कामका लागि गर्ने जायजेथा दानको अंश बढेको छ । यस अर्थमा सम्पत्ति हस्तान्तरणको प्रभाव समानताकारक नै छ ।
पहिलो हेराइमा यो भनाइ सामान्य बुझाइसँग अमिल्दो देखिन सक्छ । किनकि, सम्पन्न परिवारहरूले गरीबहरूले भन्दा ठूलो सम्पत्ति हस्तान्तरण प्राप्त गर्छन् । तर, उनीहरूको स्वामित्वमा विद्यमान सम्पत्तिको विचार गर्ने हो भने गरीब परिवारले तुलनात्मक रूपले थोरै हस्तान्तरण प्राप्त गरे तापनि धनी परिवारले प्राप्त गर्ने धेरै ठूलो सम्पत्तिको भन्दा यसको प्रभाव प्रतिशतका हिसाबले ठूलो हुन्छ । यसको अर्थ सम्पत्ति हस्तान्तरणबाहेकको सम्पत्तिको खुद मूल्य र यस्तो हस्तान्तरणबीच ऋणात्मक अन्तरसम्बन्ध हुन्छ र विद्यमान सम्पत्तिको खुद मूल्यमा हस्तान्तरण भएको सम्पत्ति थपिँदा समग्रतामा सम्पत्ति असमानता घट्छ ।
सम्पत्ति हस्तान्तरण समान्यतया गरीब व्यक्ति वा परिवारहरूतर्फ, विशेषगरी धनी अभिभावकबाट गरीब सन्तानतर्फ प्रवाहित हुने भएकाले यसले सम्पत्ति असमानता घटाउन सहयोग गर्छ । एउटा व्यक्ति वा परिवारको जायजेथा धेरै वारिसहरूबीच बाँडिँदा यस्तो असर अझ धेरै उल्लेखनीय बन्छ । यसरी सम्पत्ति धेरै वारिसबीच बाँडिने आम प्रचलनै हो । रकफेलरजस्तो मूल धनाढ्यको धेरै ठूलो सम्पत्ति यसरी पुस्तापुस्तामा थप विभाजन भएर बिलाउँदै जान्छ । बिलाउने यो दर उत्तराधिकारीका बालबच्चाको सङ्ख्यामा भर पर्छ ।
छोटकरीमा भन्नुपर्दा पारिवारिक सम्पत्तिमा सम्पत्ति हस्तान्तरणको अंश बढिरहेको छ भन्ने व्यापक दाबी कुनै अवस्थामा पनि सही छैन र विश्वका सबैभन्दा धनी अर्थतन्त्रको सवालमा त पक्कै सही छैन । यदि यो कुरा सत्य थियो नै भने पनि यो खासै समस्याको कुरा पनि होइन । किनभने दीर्घकालमा पैतृक सम्पत्ति तथा उपहारले सम्पत्ति असमानतालाई घटाउन सहयोग गर्छन् । वास्तवमा यदि मानिसहरूले आफ्नो सम्पत्ति अरूलाई वा आफ्नै परिवारका सदस्यहरूलाई मात्रै भए पनि बढी मात्रामा हस्तान्तरण गर्ने गरे भने त्यसले हामी सबैलाई राम्रो हुन्छ ।
एडवार्ड एन वुल्फ न्यूयोर्क विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक छन् । उनको नयाँ पुस्तक ‘इन्हेरेटिङ वेल्थ इन अमेरिका ः फ्युचर बुम अर बष्ट ?’ मार्चमा प्रकाशित हुने अपेक्षा छ । © प्रोजेक्ट सिण्डिकेट २०१४ ।