काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव) को फागुन मसान्तसम्म करीब साढे ६९ हजार क्वीन्टल बराबरको आठथरी पौष्टिक तत्त्व मिसाइएको चामल विक्री गरेको छ ।
कुल १ लाख ४ हजार ७८५ क्वीन्टल यस्तो चामल उत्पादन गरेको कम्पनीले गत साउनदेखि फागुन मसान्तसम्ममा ५८ लाख १४ हजार ९४० रुपैयाँ बराबरको ६९ हजार ६४० क्वीन्टल स्तरोन्नति गरिएको चामल विक्री गरेको बताएको छ । कम्पनीले गत असोजमा काठमाडौंमा यसको मिल राखेर पुसमा विक्री शुरू गरेको थियो । पिछडिएको कर्णाली प्रदेशअन्तर्गतका जिल्लामा भने २०८० फागुन महीनाबाटै वितरण गर्न थालेको थियो । काठमाडौंबाहेक, सुर्खेत, जनकपुर र राजापुरमा पनि कम्पनीको मिल रहेको छ ।
विभिन्न पौष्टिक तत्त्वको कमीले विशेषगरी बालबालिकामा देखिने कुपोषण, रक्त अल्पताजस्ता स्वास्थ्य समस्याबाट दिगो रूपमा छुटकारा दिलाउन कम्पनीले यस्तो चामल बेच्न थालेको हो ।
चामलमा आइरन, जिंक, भिटामिन ए, फोलिक एसिड, भिटामिन बी १२, थायमिन, नियासिन, पाइरिडक्सिनसहित शारीरिक र मानसिक स्वास्थ्यका लागि आवश्यक तत्त्व मिसाइएको बताइएको छ । पौष्टिक तत्त्व स्तरोन्नति सबै किसिमका चामलमा गर्न सकिने भए पनि कम्पनीले अहिले अरुवा सोना मन्सुली र स्टीम जिरा मसिनो चामलमा गरिरहेको छ । कम्पनीका अनुसार यस्तो चामलमा मिलिग्राम प्रतिकिलो एकाइका दरले आइरन ३९ देखि ७२ सम्म, जिंक ३२ देखि ५९ सम्म, भिटामिन शून्य दशमलव ८९ देखि २ दशमलव २१ सम्म, फोलिक एसिड शून्य दशमलव २४ देखि शून्य दशमलव ५९ सम्म र भिटामिन बी१२ को मात्रा शून्य दशमलव शून्य शून्य ७ देखि शून्य दशमलव शून्य २ शून्यसम्म हुनुपर्ने गरी मापदण्ड तय गरिएको छ ।
त्यसैगरी थायमिन २ दशमलव ३ देखि ५ दशमलव ६ सम्म, नियासिन २० दशमलव ५ देखि ५० दशमलव ७ सम्म र पाइरिडक्सन १ दशमलव ९ देखि ४ दशमलव ८ सम्म थप गर्न सकिने सूचनामा उल्लेख छ । कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीका अनुसार काठमाडौंसहित कर्णाली प्रदेशका कालीकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पालगायत जिल्लामा यो चामल विक्री गरिएको हो । साथै, काठमाडौं उपत्यकाका विभिन्न सरकारी विद्यालयमा यो चामललाई दिवाखाजाका रूपमा समावेश गर्नका लागि पनि कम्पनीले काम थालेको उनले बताइन् । ‘शुरुआती चरणमा काठमाडौंकै तीनओटा विद्यालयसँग समझदारी भइसकेको छ । विस्तारै अन्य विद्यालयमा पनि यो कार्यक्रम लागू गर्न कम्पनीले पहल थालेको छ,’ उनले आर्थिक
अभियानसँग भनिन् । यसअघि ७५३ ओटै पालिकाका विद्यालयको दिवाखाजामा यो चामल प्रयोग गर्न पहल भइरहेको कम्पनीले बताए पनि हालसम्म खासै प्रगति गर्न सकेको छैन ।
गत असोजमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले थापाथलीस्थित कम्पनीको कार्यालयमा चामलमा पौष्टिक तत्त्व स्तरोन्नतिका लागि आवश्यक प्लान्टको उद्घाटन गरेका थिए । विश्व खाद्य कार्यक्रमको सहयोगमा कम्पनीले हाल सुर्खेत, जनकपुर, बर्दियाको राजापुर र काठमाडौंको थापाथलीमा चामलको पौष्टिक तत्त्व स्तरोन्नति गर्न आवश्यक पर्ने मेशिन जडान गरेर यस्तो चामल उत्पादन गरी विक्री गरिरहेको छ ।