काठमाडौं। नेपालबाट निर्यात हुने प्रमुख वस्तुको सूचीमा पछिल्लो समय छुर्पी पनि पर्न थालेको छ । चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ५ महीनामा नेपालबाट ५ लाख ९७ हजार २१६ किलोग्राम छुर्पी निर्यात भएको तथ्यांक छ । त्यसबाट १ अर्ब १८ करोड ७३ लाख रुपैयाँ मुलुक भित्रिएको छ ।
गत आवको सोही अवधिमा नेपालबाट १ अर्ब १० करोड १० लाख ४८ हजार रुपैयाँ बराबरको ५ लाख ९४ हजार ८६ किलोग्राम छुर्पी निर्यात भएको थियो । गत आवको ५ महीनाको तुलनामा चालू आवको सोही अवधिमा छुर्पी निर्यात परिमाण शून्य दशमलव ५२ प्रतिशतले बढेको छ । निर्यातबाट भित्रिएको रकम भने ७ प्रतिशतले बढेको छ । अन्तरराष्ट्रिय बजारमा नेपाली छुर्पीको माग उच्च भएको भन्दै सम्बद्ध व्यवसायीले निर्यात बढाउनुपर्नेमा जोड दिएका छन् ।
भन्सार विभागको तथ्यांकअनुसार नेपालबाट छुर्पी निर्यात निरन्तर बढिरहेको छ । आव २०७५/७६ पछि वार्षिक रूपमा १ अर्ब रुपैयाँभन्दा बढीको छुर्पी निर्यात भइरहेको देखिन्छ ।
निर्यात परिषद् नेपालका अध्यक्ष रेशम पोख्रेलले नेपालले शून्य भन्सार सुविधामा छुर्पी निर्यात गर्दै आएको बताए । शून्य भन्सारको लाभ लिन नेपालले निर्यात परिणाम बढाउनुपर्ने उनको भनाइ छ । ‘निर्यात बढाउन सरकारले गुणस्तर प्रमाणीकरण गर्नुपर्छ,’ उनले भने, ‘अन्य सबै देशमा छुर्पीको गुणस्तर प्रमाणीकरणको व्यवस्था मिलाएर उत्पादनलाई प्रोत्साहन दिनुपर्छ ।’
नेपालबाट अमेरिका, क्यानडालगायत देशमा छुर्पी निर्यात हुँदै आएको छ । नेपालबाट धेरैजसो यूरोपेली देशमा दुग्धजन्य उत्पादन निर्यात गर्न पाइँदैन । ‘किनभने नेपालका उत्पादनको गुणस्तर प्रमाणपत्र छैन,’ पोख्रेलले भने, ‘नेपालको छुर्पी उपभोग गर्नयोग्य छ कि छैन भन्ने प्रमाणीकरण गर्ने व्यवस्था नै छैन, त्यसले गर्दा धेरैजसो देशले लैजाँदैनन् । सरकारले त्यो व्यवस्था गरिदिए नेपालको छुर्पी विश्वको जुनसुकै देशमा निर्यात गर्न सकिन्छ ।’ उनले अमेरिकामा कुकुर, बिरालोलाई खुवाउन छुर्पी माग हुने गरेको बताए । नयाँ ‘पेट फुड’मा के राख्ने भन्नेमा अनुसन्धान गर्दा छुर्पी उत्कृष्ट देखिएपछि अमेरिकाको रोजाइमा परेको उनको भनाइ छ ।
परिषद्का अनुसार नेपालमा वार्षिक १० लाख किलोग्रामभन्दा बढी छुर्पी उत्पादन हुन्छ । नेपालको छुर्पी विश्वका विभिन्न मुलुकमा जाने गरेको छ ।
नेपालबाट सबैभन्दा धेरै छुर्पी अमेरिका निर्यात भएको तथ्यांकले देखाउँछ । चालू आवको ५ महीनामा १ अर्ब ३ करोड रुपैयाँ बराबरको ५ लाख १५ हजार ९२४ किलोग्राम छुर्पी अमेरिका निर्यात भएको देखिन्छ ।
नेपाली छुर्पी धेरै निर्यात हुने दोस्रो देशमा क्यानडा पर्छ । पछिल्लो ५ महीनामा क्यानडामा ८ करोड ३८ लाख ७० हजार रुपैयाँ बराबरको ३७ हजार ५३९ किलोग्राम छुर्पी निर्यात भएको छ । नेपालबाट निर्यात हुने छुर्पी विशेष गरी कुकुर र बिरालोको खानामा प्रयोग हुन्छ । एक किलोग्राम छुर्पी बनाउन २२ लिटर दूध आवश्यक पर्ने पोख्रेल बताउँछन् । ‘अहिले प्रशस्त दूध भएकाले छुर्पी उत्पादन बढी गर्न सकिन्छ,’ उनले भने ।