काठमाडौं । फागुनमा धितोपत्र बजारमा ६१ अर्ब ६८ करोड २१ लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दिएको जानकारी अनुसार उक्त रकम बराबरको १६ करोड ८८ लाख ३४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । यो महीना २० कारोबार दिन बजार सञ्चालन भएको थियो ।
कुल कारोबारमा जलविद्युत् समूहको सर्वाधिक हिस्सा रहेको छ । धितोपत्र दोस्रो बजारमा जलविद्युत् क्षेत्रका सबैभन्दा बढी कम्पनी सूचीकृत छन् । कम पूँजी भएका यो क्षेत्रका कम्पनीको शेयरप्रति लगानीकर्ताको आकर्षण बढी नै देखिएको छ ।
फागुनमा मात्र जलविद्युत् कम्पनीहरूको २३ अर्ब ३९ करोड ४४ लाख रुपैयाँभन्दा बढीको ७ करोड ४४ लाख ३४ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको हो । जलविद्युत् समूहका कम्पनीहरूको शेयर कारोबारको तथ्यांकलाई हेर्दा फागुनमा भएको कुल कारोबार रकममा करीब ३८ प्रतिशत हिस्सा रहेको देखिन्छ ।
कुल कारोबारमा उत्पादन तथा प्रशोधन समूहको हिस्सा सर्वाधिक दोस्रो छ । यो समूहका कम्पनीहरूको फागुनमा मात्र ७ अर्ब २३ करोड ७० लाख रुपैयाँभन्दा बढीको १ करोड २२ लाख ५९ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको तथ्यांक नेप्सेले सार्वजनिक गरेको छ ।
यो महीना १ अर्ब २५ करोड ७७ लाख रुपैयाँभन्दा बढीको ५९ लाख ५४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर दोस्रो बजारमा कारोबार भएको छ । कुल कारोबारमा सबैभन्दा कम हिस्सा भने ऋणपत्रको रहेको छ । नेप्सेका अनुसार फागुनमा ५ करोड ७५ लाख रुपैयाँभन्दा बढीको ५९ हजारभन्दा बढी कित्ता मात्र ऋणपत्र कारोबार भएको हो ।
धितोपत्र दोस्रो बजारमा ७५ कम्पनीको ऋणपत्र सूचीकृत छ । तर, सहजरूपमा ऋणपत्रको कारोबार हुने वातावरण दोस्रो बजारमा नभएकाले कारोबार कम भएको जानकारको भनाई छ ।
अझ सरकारी ऋणपत्रको कारोबार भने दोस्रो बजारमा शून्य रहेको छ । हालसम्म सरकारी ऋणपत्रहरू डिम्याट नभएकाले दोस्रो बजारमा सूचीकृत भएपनि कारोबार भने शून्य रहेको हो ।
समूह | फागुनको कारोबार कित्ता हजारमा | फागुनको कारोबार रकम रू दश लाखमा |
जलविद्युत् | 74434.05 | 23394.44 |
उत्पादन तथा प्रशोधन | 12259.74 | 7237.01 |
अन्य | 7504.54 | 4793.61 |
जीवन बीमा | 8067.95 | 4171.31 |
बैंकिङ | 16935.73 | 4170.11 |
वित्त | 9475.82 | 4030.48 |
लगानी | 6298.44 | 3162.56 |
लघुवित्त | 3810.99 | 3068.28 |
निर्जीवन बीमा | 3821.83 | 2546.56 |
विकास बैंक | 6601.07 | 2304.46 |
संस्थापक शेयर | 5954.36 | 1257.7 |
होटल्स तथा पर्यटन | 1817.13 | 1084.82 |
व्यापारिक | 63.51 | 305.51 |
म्युचुअल फण्ड | 11729.73 | 97.75 |
ऋणपत्र | 59.31 | 57.53 |
कुल कारोबार | 168834.2 | 61682.12 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।