काठमाडौं । लामो समयदेखि फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा सबैभन्दा धेरै बजार हिस्सा ओगट्दै आएको वर्ल्डलिंक कम्युनिकेशन्सले आफ्नो बजार हिस्सा विगत १ वर्षमा थप बलियो बनाएको छ ।
बहुमत शेयर सरकारको रहेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले पनि फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा आफ्नो बजार हिस्सा उल्लेखनीय रूपमा बढाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत मङ्सिर मसान्तसम्ममा वर्ल्डलिंकको ग्राहक संख्या ९ लाख ५२ हजार १४७ पुगेको छ । ब्रोडब्यान्ड इन्टरनेटको कुल ग्राहक संख्यामा वर्ल्डलिंकको हिस्सा ३१ दशमलव ८८ प्रतिशत छ । वर्ल्डलिंकको बजार हिस्सा गतवर्ष मङ्सिरको तुलनामा ४ दशमलव २१ प्रतिशत बिन्दुले बढेको प्राधिकरणको तथ्यांकले देखाउँछ । वर्ल्डलिंकले ग्रामीण क्षेत्रमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ वैदेशिक लगानी पनि भित्त्याएको कम्पनीका एक अधिकारीले बताए ।
सन् २०१९ को अक्टोवरमा वर्ल्डलिंक कम्युनिकेशन्समा बेलायतको विकास वित्त संस्था सीडीसी ग्रूपले १ अर्ब ३५ करोड रुपैयाँ लगानी गर्ने गरी सम्झौता भएको थियो । सिडसी ग्रुप पछि सन् २०२२ मा ब्रिटिश ईन्टरनेशनल ईन्भेष्टमेन्टमा परिवर्तन भयो । त्यसैगरी सन् २०२३ को मार्चमा ब्रिटिश इन्टरनेशल ईन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डले सँयुक्त रुपमा १ अर्व ९८ करोड रुपैयाँ वरावरको लगानी यो कम्पनीमा गरेका थिए । फेरि गत मंशीर महिनामा फिनल्याण्डका विकास वित्त निकाय फिनफण्डले पनि वल्र्डलिंकमा १ करोड युरो (१ अर्व ४३ करोड रुपैयाँ) ईक्विटी लगानी गर्न कम्पनीसँग सम्झौता गरेको थियो । ‘प्राप्त विदेशी लगानीबाट वर्ल्डलिंकले देशका अतिविकट गाउँमा उच्चस्तरीय इन्टरनेट पुर्याउँदै छ,’ वर्ल्डलिंकका ती अधिकारीले भने ।
गतवर्ष मङ्सिरमा ८ दशमलव ९४ प्रतिशत बजार हिस्सासहित छैटौं स्थानमा रहेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) यो मङ्सिरमा दोस्रो नम्बरमा उक्लिएको छ । टेलिकमका ग्राहक ३ लाख ४७ हजार ३७५ छन् । उसले बजार हिस्सा ११ दशमलव ६३ प्रतिशत ओगटेको छ । गत मङ्सिरको तुलनामा टेलिकमले २ दशमलव ६९ प्रतिशत बिन्दुले बजार हिस्सा बढाएको छ । नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले तुलनात्मक सस्तो इन्टरनेट सेवाको प्याकेजका कारण आफ्नो कम्पनीको बजार हिस्सा बढ्न गएको बताए ।
बजार हिस्साको हिसाबले डिस मिडिया नेटवर्क तेस्रो नम्बरमा पर्छ । उसको कुल ग्राहक संख्या यस अवधिमा ३ लाख ३४ हजार १२६ छ । यसको बजार हिस्सा ११ दशमलव १९ प्रतिशत रहेको तथ्यांकले देखाउँछ । डिस मिडियाले गतवर्ष मङ्सिरको तुलनामा बजार हिस्सा सामान्य बढाए पनि नेपाल टेलिकमले उल्लेखनीय मात्रामा बढाएका कारण डिस मिडिया तेस्रो नम्बरमा झरेको हो । गत मङ्सिरयता सुबिसु, वेबसर्फर, सिजी, वाइफाई नेपाललगायतले बजार हिस्सा बढाउँदै लगेको देखिन्छ । क्लासिक टेक, भायनेट, टेकमाइन्स, ब्रोडलिंक नेटवर्कलगायतको बजार हिस्सा पोहोर मङ्सिरको तुलनामा घटेको प्राधिकरणले बताएको छ । गत मङ्सिरको तुलनामा क्लासिकटेकको बजार हिस्सा ३ दशमलव ८९ प्रतिशत, भायनेटको २ दशमलव ६ प्रतिशत, टेकमाइन्सको २ दशमलव शून्य ५ प्रतिशतले घटेको छ ।
‘शुरूशुरूमा सस्तो स्किम ल्याएर बजारमा आउने पछिबाट ग्राहकको माग सम्बोधन गर्न चुक्दै जाँदा पनि ग्राहक घटेको हुन सक्छ,’ दूरसञ्चार प्राधिकरणका एक उच्च अधिकारीले भने । उनका अनुसार यी कम्पनीले लगानी बढाउन चासो नदिनु, प्याकेजहरू महँगो बनाउनु र ग्राहकको गुनासो समयमै सम्बोधन गर्न बेवास्ता गर्नुले पनि बजार हिस्सा घट्दै गएको हुन सक्छ ।’