काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८५ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ३ करोड ३३ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ६ करोड १६ लाख पुगेको हो । चालू आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा १५ प्रतिशत र सञ्चालन नाफा ८१ दशलमव ८९ प्रतिशत वृद्धि भएको छ । नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३५ पैसा रहेकोमा चालू आवमा बढेर २८ रुपैयाँ ४३ पैसा पुगेको छ ।
कम्पनीको चुक्ता पूँजी रू. ८६ करोड ७९ लाख छ । कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा जगेडामा रू. ९६ करोड ९५ लाख र शेयर प्रिमियममा रू. २ करोड २३ लाख सञ्चिति गरेको छ । सो अवधिमा रिटेन्ड अर्निङ भने रू. ४० करोड ४१ लाख ऋणात्मक रहेको छ ।
त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात १८ दशमलव १९ गुणा, तरलता अनुपात २७ दशमलव ३० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६७ दशमलव १६ रहेको छ ।