काठमाडौं । राष्ट्रिय स्तरका आठ विकास बैंकले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी आठ बैंकले कुल रू. १ अर्ब १० करोड नाफा आर्जन गरेका छन् ।
यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा भने सामान्य वृद्धि हो । गत आवको पहिलो त्रैमाससम्ममा यी बैंकहरूले रू. १ अर्ब ९ करोड नाफा कमाएका थिए ।
आठ विकास बैंकमध्ये तीन बैंकको नाफा गत आवको तुलनामा चालू आवमा वृद्धि भएको छ भने बाँकी सबैको नाफा घटेको छ। गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंकको नाफा गत आवको तुलनामा चालू आवमा वृद्धि भएको हो । यी तीन बैंकमध्ये कामना सेवा विकास बैंकको नाफा १८७ दशमलव ५८ प्रतिशत वृद्धि भएको छ ।
बैंकले गत आवमा रू. ४ करोड १५ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ११ करोड ९५ लाख पुगेको हो । त्यस्तै दोस्रोमा लुम्बिनी विकास बैंकको नाफा गत आवको तुलनामा चालू आवमा १४३ प्रतिशत वृद्धि भएको छ ।
बैंकले गत आवमा रू. ७ करोड २० लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. १७ करोड ३२ लाख पुगेको छ ।
यी आठ बैंकमध्ये सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले रू. २२ करोड ८८ लाख नाफा कमाएको हो । यो नाफा गत आवको तुलनामा भने २५ प्रतिशत घटेको छ ।
कम्पनीले गत आवमा रू. ३० करोड ७४ लाख नाफा कमाएको थियो । दोस्रोमा गरिमा विकास बैंकले रू. २० करोड १५ लाख नाफा कमाएको छ ।
यी बैंकमध्ये ज्योति विकास बैंकको नाफा सबैभन्दा बढी गत आवको तुलनामा चालू आवमा ४९ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. १० करोड नाफा कमाएकोमा चालू आवमा घटेर रू. ५ करोड ८ लाखमा सीमित भएको हो ।