काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा शुक्रवारदेखि जारी २६ औं फ्लोरा एक्स्पोमा दोस्रो दिनसम्म ३१ हजारभन्दा बढीले अवलोकन गरेको आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।
शुक्रवार शुरु भएको प्रदर्शनीमा अहिलेसम्म ५८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको आयोजकको भनाइ छ ।
प्रदर्शनी ६० हजारले अवलोकन गर्ने र यसबाट एक करोड रुपैयाँभन्दा बढीको कारोवार हुने आयोजकको लक्ष्य छ ।
प्रदर्शनीमा व्यावसायिक ६७, ल्याण्डस्केपिङ एक, अफिसियल दश, प्रतियोगितात्मक प्रदर्शनी दुई र फूड स्टल ३ ओटासहित ८३ ओटा स्टल रहेको एसोसिएसनका उपाध्यक्ष तथा मेला संयोजक राम बहादुर तामाङ (सुनिल)ले बताए ।
प्रदर्शनी अवलोकनका लागि सर्वसाधारणका लागि १५० र विद्यार्थीका लागि १०० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । ज्येष्ठ नागरिकलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
गत शुक्रवार बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले प्रदर्शनी उद्घाटन गरेका थिए । उद्घाटन पनि उनले प्रदर्शनी अवलोकनसमेत गरेका थिए ।
अवलोकनपछि पुष्प व्यवसायीसँग कुरा गर्दै उनले आफूले स्मार्ट फार्मिङको लागि बजेट बिनियोजन गर्ने र सोको लागि ठोस प्रस्ताव पेश गर्न अनुरोध गरेका थिए ।
साथै उनले पुष्प व्यवसायले देशको अर्थतन्त्रमा ठुलै सहयोग पुर्याएको बताए । फूलमा आत्मनिर्भर हुनका लागि उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ छ ।
पुष्प व्यवसायलाई आधुनिकीकरण गर्दै व्यवसायीलाई आत्मनिर्भर बनाउनुपर्ने कुरामा जोड दिँदै उनले पुष्प व्यवसायमा चुनौतीसँगै अवसर पनि धेरै रहेकाले क्षेत्रलाई चाँडै नै आत्मनिर्भर बनाउन सकिने अवस्था रहेको बताए ।
प्रदर्शनी आगामी सोमवारसम्म चल्नेछ ।