काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले मंसिर १९ गते १७औं वार्षिक साधारण सभा बोलाएको छ । कात्तिक २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरूलाई स्वीकृति प्रदान गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीका आधारमा करसमेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई समेत सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
सञ्चालकको भत्ता तथा सुविधामा थप हेरफेर गर्ने प्रस्ताव गरेको कम्पनीले सोहीबमोजिम नियमावली संशोधन गर्ने प्रस्तावसमेत सभाका लागि तय गरेको छ । साथै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जान आवश्यक देखिएमा त्यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ९ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा मंसिर ८ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।