वीरगञ्ज । वैदेशिक व्यापारलाई प्रतिस्पर्धी बनाउन पारवहनका पूर्वाधारमा व्यापक सुधार गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश, पीएचडी चेम्बर अफ कमर्स भारत र नेपाल–भारत उद्योग वाणिज्य संघ वीरगञ्जले बिहीवार वीरगञ्जमा आयोजना गरेको ‘नेपाल–भारत मल्टिमोडल लजिस्टिक एन्ड कनेक्टिभिटी समिट–२०२४’ का सहभागी वक्ताहरूले नेपालको वैदेशिक व्यापारलाई प्रभावकारी बनाउन नेपाल–भारत व्यापार र पारवहन सन्धिमा पुनरवलोकनदेखि पूर्वाधार सुधारको आवश्यकता औंल्याएका हुन् ।
भारतको कोलकाताका लागि नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले नेपालको वैदेशिक व्यापारसँग सरोकार राख्ने सन्धि, सम्झौता र समझदारीहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए । वैदेशिक व्यापारसँग सम्बद्ध द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सम्झौताहरूको पुनरवलोकन र आवश्यकताअनुसार सुधारका लागि सरकारले काम गरिरहेको उनले उल्लेख गरे ।
‘नेपालको दुई तिहाइ व्यापार भारतसित छ । भारत नेपालका लागि निकासीको बजारमात्र होइन, नेपाल भारतका लागि पनि एक प्रमुख निकासी गन्तव्य हो । व्यापारका सरोकार भारतसितै बढी हुने भएकाले नेपाल र भारतबीचको व्यापार सम्बन्ध सापेक्ष हुनुपर्दछ,’ पौडेलले भने । चालू आर्थिक वर्ष २०८०/८१ मा १३ खर्ब रुपैयाँको आयात भएकोमा भारतबाट मात्र ८ खर्ब १५ अर्बको आयात भएको भन्सार विभागको तथ्यांक छ । त्यसैगरी १ खर्ब २६ अर्ब रुपैयाँको निर्यात भएकोमा ८६ अर्ब रुपैयाँको निर्यात भारतमै भएको छ ।
नेपाल–भारत खुला सिमाना दुवै देशका नागरिकको हितमा भए पनि खुला सीमाको दुरुपयोगमार्फत हुने अवैध गतिविधि नियन्त्रण गर्नुपर्ने पौडेलले स्पष्ट पारे ।
भारतले जल, सडक, हवाई यातायातको पूर्वाधार सुधारलाई आक्रामक रूपमा अघि बढाएकाले त्यसबाट नेपालको वैदेशिक व्यापारले लाभ लिन सक्ने भन्दै उनले भारतको पश्चिम बंगालमा निर्माण भइरहेको ताजपुर समुद्री बन्दरगाह नेपालका लागि तुलनात्मक बढी उपयोगी हुन सक्ने बताए ।
सन् २०२५ सम्ममा सञ्चालनमा ल्याउने लक्ष्यअनुसार भारतको अडानी समूहले काम अघि बढाएको यो बन्दरगाह मुख्य नाका वीरगञ्जबाट ८८० किलोमिटर दूरीमा पर्छ । अहिले नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि पश्चिम बंगालकै कोलकाता, हल्दिया र आन्ध्र प्रदेशको विशाखापत्तनम् बन्दरगाह प्रयोग गर्दै आएको छ ।
कार्यक्रममा वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत देवी सहाय मीनाले नेपाल–भारत व्यापार सहजीकरणका लागि भारतले नेपालसितको सीमा नाकामा पूर्वाधार सुधारको काम गर्दै आएको बताए । नाकास्थित आईसीपी, बन्दरगाह, रेलमार्गजस्ता पूर्वाधार र सीमावर्ती क्षेत्रमा निर्माण भएका सडकबाट व्यापार सहजीकरणमा सहयोग पुगेको उनको भनाइ थियो ।
भारतले नेपालमा उत्पादित वस्तुको निर्यात प्रवर्द्धनका लागि कतिपय उत्पादनलाई भन्साररहित प्रवेशको सहुलियत दिएको उनले उल्लेख गरे । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले आयात निर्यात कारोबारलाई सहजीकरण गर्न सञ्चालित भन्सार, सुक्खा बन्दरगाह, एकीकृत जाँच चौकीहरूको पूर्वाधार सुधार र प्रभावकारी
सञ्चालनमा जोड दिए ।
अवैध व्यापार नियन्त्रणका लागि सम्पूर्ण नाकाहरूमा एक्सरे मेसिनको व्यवस्था हुनुपर्ने अध्यक्ष टेमानीको भनाइ थियो । नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि भारतका कोलकाता, हल्दिया र विशाखापत्तनम् बन्दरगाह प्रयोग गर्दै आएकोमा भारतका सबै बन्दरगाह प्रयोग खुला गरिनुपर्ने उनले बताए ।
‘भारतीय बन्दरगाहको उपयोग नेपालका लागि समुद्री मार्गसम्मको पहुँच मात्र नभएर भारतीय बन्दरगाहका लागि व्यवसाय पनि हो । बन्दरगाहको कारोबार छिटोछरितो र मितव्ययी बनाइनुपर्दछ । व्यवसायीले आफूलाई पायक पर्ने बन्दरगाहबाट मालसामानको आयात निर्यात गर्न सक्छन् । यसले समय र लागतको बचत हुन्छ,’
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले मल्टिमोडल पारवहनका लागि सरकार लागिपरेको बताए । वीरगञ्ज, चोभार र तातोपानीका अलावा सन् २०२५ को जुलाईसम्ममा रसुवामा पनि सुक्खा बन्दरगाह चलाउने योजनाअनुसार काम अघि बढेको कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए ।
दोधारा चाँदनीमा बन्दरगाह निर्माणका लागि अन्तरसरकारी छलफल अघि बढेको भन्दै उनले नेपालगञ्ज एकीकृत जाँच चौकी (आईसीपी)को काम पूरा भइसकेको र भैरहवामा ३५ प्रतिशत प्रगति भएको बताए । ‘निजीक्षेत्रको सुझावअनुसार वीरगञ्जको सुक्खा बन्दरगाहमा डस्टी कार्गो व्यवस्थापनको काम शुरू भएको छ । विराटनगर आईसीपीमा रेल सञ्चालनका लागि निजीक्षेत्रसँग छलफल चलिरहेको छ,’ गजुरेलले भने । सरकारले सातै प्रदेशमा लजिस्टिक हब बनाउने योजना अघि बढाएको उनले उल्लेख गरे ।
लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले पारवहन र पूर्वाधारका क्षेत्रका रूपान्तरणकारी योजना अघि बढेको दाबी गरे । यस्ता योजनाको दिगो कार्यान्वयनका लागि कार्ययोजना बनेको भन्दै उनले यसबाट पारवहनसँगै समृद्धिको लक्ष्य सहज हुने बताए । उनले सेती जलाशययुक्त आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन भइरहेको र आगामी सेप्टेम्बरसम्ममा यसको प्रतिवेदन आउने जानकारी दिए ।
नेपाल–भारत उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष अभिषेक चौधरीले नेपाल र भारतबीचका व्यापार, पारवहन सन्धि र नीतिहरूको प्रभावकारी कार्यान्वयनको माग गरे । लगानी प्रवर्द्धनका लागि पारवहनका पूर्वाधारको आवश्यकता उनले औंल्याए । उनले भने ।