काठमाडौं । प्रभु इन्स्योरेन्सले यस वर्ष ५ प्रतिशत लाभांश दिने निर्णय भएको छ । फागुन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
कम्पनीले यस वर्ष गत वर्षको भन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ६ दशमलव ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।