काठमाडौं । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु स्मार्ट फण्ड र प्रभु सेलेक्ट फण्डले असोज मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी दुवै फण्डको न्याभ भदौको तुलनामा असोजमा घटेको छ ।
प्रभु स्मार्ट फण्डको न्याभ भदौ मसान्तमा १० रुपैयाँ ४५ पैसा रहेकोमा असोज मसान्तमा १० रुपैयाँ १७ पैसामा झरेको छ । त्यस्तै प्रभु सेलेक्ट फण्डको न्याभ भदौ मसान्तमा १० रुपैयाँ ८२ पैसा रहेकोमा असोज मसान्तमा ९ रुपैयाँ ६५ पैसामा सीमित भएको छ । यस फण्डको नोक्सानी भदौको तुलनामा असोजमा बढेको छ ।
भदौ मसान्तमा फण्डले रू. २ करोड २४ लाख नोक्सानीमा रहेकोमा असोज मसान्तमा बढेर रू. ४ करोड ९१ लाख पुगेको छ ।
असोजमा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानी बढेको हो । यस फण्डले असोज मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७३ करोड ४९ लाख लगानी गरेको छ ।
प्रभु स्मार्ट फण्डले असोज मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ५१ करोड ३९ लाख लगानी गरेको छ । यस फण्ड असोज मसान्तमा रू. ३ करोड ५७ लाख नोक्सानीमा छ । भदौ मसान्तमा फण्ड रू. ७६ लाख १५ हजार नोक्सानीमा थियो ।