काठमाडौं । प्रभु क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले प्रस्तावित प्रतिफल प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेका छन् । योजना व्यवस्थापकको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले दुवै योजनाको प्रस्तावित प्रतिफल प्रयोजनका लागि असोज १४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।
बुक क्लोजको आधारमा असोज १३ गतेसम्म कायम इकाईधनीहरूले मात्र सम्बन्धित योजनाको प्रतिफल प्राप्त गर्न सक्नेछन् । बुक क्लोजपछि यी योजनाहरूले सम्बन्धित इकाईधनीहरूको बैंक खातामा प्रतिफल जम्मा गर्नेछन् ।
यस वर्ष प्रभु सेलेक्ट फण्डले कर समेत १० प्रतिशत र प्रभु स्मार्ट फण्डले करसमेत ८ दशमलव ५० प्रतिशत प्रतिफल वितरण गर्ने प्रस्ताव गरेका छन् । यी दुवै योजना बन्दमुखी प्रकृतिका हुन् । यी योजनाका इकाई धितो बन्धक राखेका इकाईधनीहरूले लाभांश प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र पेश गर्नुपर्ने जानकारी योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले दिएको छ ।