काठमाडौं । प्रभु ग्रुप्स अन्तर्गतको प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर लिलामीमा आएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गरी आजबाट सो शेयर लिलामीमा राखेको हो ।
कम्पनीको उक्त शेयर प्रतिकित्ता रु. ६० माथि बढाबढ मूल्यमा खरीद गर्नुपर्नेछ । आवेदकले आवेदन दिँदा न्यूनतम १ हजार कित्तादेखि अधिकतम् सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले गत माघ २४ देखि १ः१ का दरले फागुन २८ सम्म हकप्रद शेयर निष्कासन गरेको थियो । उक्त हकप्रद शेयर विक्री वितरणपछि बाँकी रहेको जम्मा १३ लाख १७ हजार ३० कित्ता शेयर लिलामीमा राखिएको छ ।
उक्त शेयरमा आवेदन दिन चाहने व्यक्ति वा संस्थाहरूले यही चैत २० गतेसम्म काठमाडौं महानगरपालिका–३२, तीनकुनेस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा आवेदन दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
कम्पनीले २५ मेगावाटको माथिल्लो दोर्दी खोला जलविद्युत आयोजना, २५.४ मेगावाटको सुपर आँखुखोला जलविद्युत आयोजना र सिद्धार्थ केवलकार लिमिटेडमा लगानी गरेको छ ।
कम्पनीले केही दिनअघि ३७ मेगावाटको माथिल्लो म्याग्दी जलविद्युत आयोजनामा रु. ४५ करोडभन्दा बढी लगानी गर्ने गरी सम्झौतासमेत गरिसकेको छ । कम्पनीले विभिन्न उत्पादनमुलक उद्योग, होटल, पर्यटनलगायत ठूला परियोजनामा लगानी गर्ने उद्देश्य राखेको छ ।
कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासनकोसमेत तयारी गरेको छ । कम्पनीले सर्वसाधारणका लागि रु. ९८ करोडको सार्वजनिक शेयर निष्कासन (आईपीओ) गर्न कुमारी क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।