काठमाडौं । संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभाको ७९औँ अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि उच्चस्तरीय भेटवार्ता शुरू गर्नुभएको छ । उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ४ गते त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सोही क्रममा शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।
सो अवसरमा प्रधानमन्त्री ओलीले केही समयअघि नेपाल भ्रमण गरेकोमा महासचिव गुटेरेसप्रति कृतज्ञता व्यक्त गर्दै नेपालले जलवायु न्याय पाउनुपर्ने र यसमा पहलका लागि आग्रह गर्नुभएको थियो । त्यस्तै महासचिव गुटेरेसले नेपालमा हिमालहरू पग्लिने र त्यसबाट हुने क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यसअघि प्रधानमन्त्री ओलीसँग राष्ट्रसंघको अल्पविकसित, भूपरिवेष्टित, विकासोन्मुख र साना टापु मुलुकका लागि प्रतिनिधिसमेत रहेका उपमहासचिव रबाब फतिमाले नेपाली नियोगको कार्यालयमा भेट गरेका थिए । आजै ‘द समिट अफ द फ्युचर’को एक सत्रमा प्रधानमन्त्री ओलीले सहअध्यक्षता गर्नुका साथै प्लेनरी सत्रमा सम्बोधन गर्ने तालिका छ । प्रधानमन्त्री ओलीसँग आजै संयुक्त राष्ट्रसंघको मानव अधिकार आयुक्तले पनि शिष्टाचार भेट गर्दै छन् । यसैगरी भुटानका प्रधानमन्त्री डाशो छिरिङ तोग्बेसँग द्विपक्षीय बैठक हुने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसपछि प्रधानमन्त्री ओली र कुवेतका युवराज शेख सबाह अल–खालेद अल–हमद अल–मुबारक अल–सबाहसँग द्विपक्षीय बैठक हुनेछ ।
भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने
आजै प्रधानमन्त्री ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता हुने तालिका छ । उहाँहरुको भेटलाई महत्वका साथ हेरिएको छ । गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हो । उक्त भेटमा नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल हुने बताइएको छ । आइतबार नै प्रधानमन्त्री ओलीले नेपाली समुदायसँग अन्तरक्रिया गर्नुहुनेछ र सोही अवसरमा आयोजित रात्रिभोजमा सरिक हुनुहुनेछ तालिका छ ।
भोलि सोमबार प्रधानमन्त्री ओलीले युनिसेफ भवनमा हुने ‘लिड–फ्रि फयुचर, पाटर्नरसिप लञ्च’कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । सोही दिन उहाँले कोलम्बिया विश्वविद्यालयमा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’को कार्यक्रममा मुख्यवक्ताका रुपमा सम्बोधन गर्नुका साथै नेपाली विद्यार्थीसँग अन्तरक्रिया गर्नुहुनेछ । मङ्गलबार विहान प्रधानमन्त्री ओली महासभाको छलफलमा सहभागी हुनुहुनेछ । सोही दिन दिउँसो नेपालको स्थायी नियोगको कार्यालयमा उहाँ र युएसएआइडीका प्रशासक सामान्थ पावरबीच भेटवार्ता हुनेछ ।
सोही दिन नै प्रधानमन्त्री ओली र युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिचेलसँग, सामोअका प्रधानमन्त्री फिमे नाओमीसँग तथा फिनल्याण्डको राष्ट्रपति र प्रधानमन्त्रीसँग छुट्टाछट्टै द्विपक्षीय भेटवार्ता हुने तालिका छ । बुधबार प्रधानमन्त्री ओली र एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच शिष्टाचार भेट हुनेछ । उहाँले ‘समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा’ विषयक समूहगत उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नुहुनेछ ।
सोही क्रममा प्रधानमन्त्री ओली र बङ्गलादेशका प्रमुख सल्लाहकारबीच द्विपक्षयी भेटवार्ता हुनेछ । प्रधानमन्त्री ओली बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनुहुनेछ । बिहीबार प्रधानमन्त्री ओली र कतारका प्रधानमन्त्री, पाकिस्तानका प्रधानमन्त्री तथा लाओसका प्रधानमन्त्रीबीच छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता हुनेछ । सोही दिन प्रधानमन्त्री ओली र महासभाका अध्यक्ष फिलिमेन याङबीच बैठक हुनेछ भने प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभामा विशेष सम्बोधन गर्नुहुने तालिका छ ।
असोज ११ गते शुक्रबार प्रधानमन्त्री ओलीले हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई सम्बोधन गर्नुहुने तालिका छ । त्यस्तैगरी उहाँ वासिङ्टनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुनेछ । प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा दिव्या सिंह, प्रमुख स्वकीयसचिव राजेश बज्राचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतकुमार राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतमलगायत हुनुहुन्छ । प्रधानमन्त्री ओली यही असोज १४ गते स्वदेश फर्कनुहुने तालिका छ ।
ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा ओली र गुटेरेसको समान मत
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा समान धारणा देखिएको छ । अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालायमा भएको भेटवार्तामा महासचिव गुटेरेसले नेपालमा हिमालहरू पग्लिने र त्यसबाट हुने क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले ग्रिनहाउस ग्यास उत्सर्जनमा भारी कटौती र कमजोरीहरू सम्बोधनसहित नेपालजस्ता पर्वतीय देशहरूको जलवायु वित्त पर्याप्त हुनुपर्नेमा जोड दिनुभएको थियो । गत वर्ष आफ्नो नेपाल भ्रमणका क्रममा नेपाल सरकार र नेपाली जनताले देखाएको सदासयताप्रति आभार व्यक्त गर्नुहुँदै महासचिव गुटेरेसले अतिकम विकसित देशलगायत विकासशील देशले कार्बन उत्सर्जन न्यूनीकरण र रोकथाममा ध्यान केन्द्रित गर्न अन्तर्राष्ट्रिय क्षेत्रमा गहन सुधारको आवश्यकतामा जोड दिएको भेटमा सहभागी राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका प्रतिनिधि (राजदूत) लोकबहादुर थापाले जानकारी दिए ।
विकासशील देशहरूले उन्नत वित्तीय सहायताका लागि वित्तीय संरचना सरलीकृत गर्न राष्ट्रसंघले पहल गर्ने विश्वास दिलाउनुहुँदै महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघको शान्ति कार्यमा नेपाली शान्ति सैनिकको योगदानको उच्च प्रशंसा गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले नेपाल भ्रमण गरेकामा कृतज्ञता व्यक्त गर्नुहुँदै नेपालले जलवायु न्याय पाउनुपर्ने र यसमा पहलका लागि आग्रह गर्नुभएको थियो । उहाँले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न योगदान गरिरहेका नेपाली शान्ति सेनालाई राष्ट्रसंघको उच्चतम् पद उपलब्ध गराउन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपालको खुम्बु क्षेत्रमा हालै गएको हिम पहिरोप्रति राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायको चासोका लागि पनि धन्यवाद दिनुहुँदै नेपालले चाँडै ‘हिमालय इकोसिस्टम’को एजेण्डासहित सगरमाथा संवादको आयोजना गर्ने जानकारी गराउनुभयो । उहाँले उक्त संवादमा सहभागी हुन महासचिव गुटेरेसलाई निमन्त्रणासमेत दिनुभयो । ‘समृद्ध, नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षासहित मुलुकको आर्थिक रूपान्तरण गरी अल्पविकासित मुलुकबाट स्तरोन्नति हुने क्रममा नेपाल रहेको स्पष्ट गर्नुहुँदै प्रधानमन्त्री ओलीले दिगो विकास लक्ष्यहरू हासिलका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपेक्षासमेत गर्नुभयो ।
भेटका अवसरमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका प्रतिनिधि (राजदूत) थापा र परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई सहभागी हुनुहुन्थ्यो । त्यसअघि प्रधानमन्त्री ओलीसँग राष्ट्रसंघको अल्पविकसित, भूपरिवेष्टित, विकासोन्मुख र साना आइल्याण्ड भएका मुलुकका लागि प्रतिनिधिसमेत रहनुभएका उपमहासचिव रबाब फतिमाले नेपाली नियोगको कार्यालयमा भेट गर्नुभएको थियो । गए राति नै प्रधानमन्त्री ओलीसहित भ्रमण दलमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले रात्रिभोज आयोजना गरेको थियो ।