काठमाडौं। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि क्षेत्रको दिगो तथा संस्थागत विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव पेश गरेको छ । कम्पनीको देशभरको उपस्थिति, समग्र कृषि क्षेत्रको अध्ययन तथा अनुसन्धान र हालसम्मको कार्य अनुभवको आधारमा, कृषि क्षेत्रको दिगो तथा संस्थागत विकासका लागि प्रधानमन्त्रीलाई १० बुँदे सुझाव पेश गरेको हो ।
कम्पनीले मन्त्रालयको प्राविधिक सहयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतमा ‘एकीकृत कृषि विकास प्राधिकरण/निकाय/केन्द्र’ स्थापनाको लागि सुझाएको छ । सरकारले खरीद सुनिश्चित गर्न सक्ने उद्योग संरचनाको विकासमा लगानी गरी प्रतिस्पर्धात्मक रूपमा सञ्चालन र व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई दिनुपर्ने सुझावमा उल्लेख छ ।
बजार अनुसारको उत्पादन प्रणालीको विकास गर्न करार ऐनको निर्माण, उत्पादन क्यालेन्डरको विकास र खरीद सुनिश्चतताको व्यवस्थामार्फत सामूहिक तथा व्यावसायिक उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने सुझाव कम्पनीको छ । स्थानीय सम्भावनामा आधारित ‘एक स्थानीय संरचना (निकाय), एक कृषि परियोजना’मार्फत उत्पादन प्रवर्द्धन तथा प्रारम्भिक प्रशोधन, भण्डारण तथा वितरणमा अभिमुखीकरण गरिनुपर्ने सुझावमा उल्लेख छ ।
उद्यमशीलता केन्द्रमार्फत युवालाई कृषि उद्यममा आकर्षित गर्नुपर्ने, सहकारीमा आधारित कृषि स्रोत केन्द्रको विकास गर्नुपर्ने, कृषिमा संस्थागत परामर्श केन्द्रको स्थापना र सञ्चालनको लागि नीतिगत व्यवस्था गर्नुपर्ने कम्पनीको सुझाव छ ।
उपभोक्तालाई स्वस्थ र गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउन ‘खाद्य साक्षरता’ अभियानलाई राष्ट्रिय रूपमा सञ्चालन गर्नुपर्ने, जलवायु अनुकूल तथा उत्थानशील प्रविधिको विकास र प्रवर्द्धन तथा कार्बन फार्मिङलाई कार्बन व्यापारमा जोड्दै साना कृषकको क्षमता अभिवृद्धि गर्नुपर्ने सुझावमा उल्लेख छ ।