काठमाडौं । निजी दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले आफ्नो एपमा नयाँ सुविधा थपेको छ ।
कम्पनीले बिहीवार (आज) जारी गरेको प्रेस विज्ञप्तिअनुसार ग्राहकले अब यो एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) लिन सजिलै आवेदन दिन सक्नेछन् । प्रयोगकर्ताले पुलिस रिपोर्टका लागि सिधै एपमार्फत आवेदन दिएर अनलाइनबाटै आफ्नो रिपोर्ट प्राप्त गर्न सक्छन् ।
गत साउन २९ गतेदेखि लागु हुने गरी एनसेलले नेपाल प्रहरीको वेबसाइट आफ्नो नेटवर्कमा डाटाबिना चल्ने बनाएको थियो । यसले प्रहरीमा उजुरी, पुलिस रिपोर्टका लागि अनलाइन आवेदनलगायत सेवा लिन यो वेबसाइट चलाउँदा इन्टरनेटको पैसा नलाग्ने भएको छ ।
‘एक जिम्मेवार कर्पोरेट नागरिकको हैसियतले नेपाल प्रहरीसँगको सकहार्यमा विभिन्न सार्वजनिक सेवा डिजिटल रूपमा हाम्रो ग्राहकमैत्री एनसेल एपमार्फत उपलब्ध गराउन पाउँदा खुसी छौं,’ एनसेलका चिफ रेगुलेटरी अफिसर विशाल उपाध्यायले भने, ‘सधैं अनको महत्त्व थप बढाउँदै, एनसेलले डिजिटल रूपमा सेवा प्रदान गर्न र सरकारको डिजिटल नेपाल अवधारणामा सघाउन समान विचारधारा भएका बैंकहरूजस्ता साझेदारसँग सहकार्य गरेर एनसेल एपमा थप सुविधा थप्ने काम भइरहेको छ ।’