वीरगञ्ज । करीब ३ वर्षअघि पर्साको ठोरीमा बसेको मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले जिल्लाको सुदूर पश्चिममा पर्ने ठोरी पालिकालाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गर्यो । २०७८ चैत ११ गतेको सो बैठकलगत्तै प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले ठोरीमा पर्यटकीय पूर्वाधार विकासका लागि १० करोड रुपैयाँ विनियोजन गर्ने घोषणा पनि गरे ।
तर, त्यो घोषणामै सीमित रह्यो । यसबीचमा आवधिक चुनाव भएर स्थानीयदेखि प्रदेश सरकार फेरिए । ठोरीलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने योजना ओझेलमा पर्यो । प्रदेश सरकारले ठोरीको सम्भाव्यता उपयोगको उद्देश्यलाई पूरै बेवास्ता गरेको गुनासो गर्छन् ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ । अध्यक्ष श्रेष्ठ भन्छन्, ‘प्रदेश र संघ सरकारले ठोरीप्रति सहयोगी दृष्टिकोण राखेमा ठोरीले पर्यटन विकासमा उदाहरणीय काम गर्न सक्ने थियो । तर, घोषणा गरिएको बजेटसमेत आएन । हामीले स्थानीय स्रोतबाट काम गर्न सकिरहेका छैनौं ।’
पर्यटकीय सम्भाव्यताकै कारण मधेश सरकारले यो क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरेको थियो । ‘सम्भावनै सम्भावनाले भरिएको ठोरीको पर्खाइ भनेको पर्यटकीय पूर्वाधारमा तहगत सरकारीबीच सहकार्य र समन्वयको मात्र हो । ठोरीको पर्यटन पर्साका लागिमात्र नभएर मधेश प्रदेशकै लागि कोशेढुंगा बन्न सक्छ,’ श्रेष्ठले दाबी गरे । पर्साको सदरमुकाम वीरगञ्जबाट ठोरी ३० किलोमिटर दूरीमा छ । यो क्षेत्र यतिबेला सीमावर्ती क्षेत्रबाट आउने भारतीय पर्यटकको रोजाइमा परेको छ । सदरमुकाम वीरगञ्जबाट पनि आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि टाइगर रिजर्भले घेरिएको ठोरीमा राइधारा पार्क, पहुँचमार्गका पुलहरूमा फहराइएका नेपाली राष्ट्रिय झण्डा, ठुटेखोला पुल र किनारमा अवस्थित सेतो पहाड मुख्य पर्यटकीय आकर्षण हुन् ।
पर्यटकको आगमन बढेपछि पछिल्लो समय यहाँ स्तरीय रिसोर्ट, होटल र होमस्टे पनि खुल्न थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापाले बताए । तर, पर्यटकीय पूर्वाधारमा अपेक्षित काम गर्न नसकिएको उनको भनाइ छ । प्रदेश र संघीय सरकारले पर्यटकीय पूर्वाधारका लागि बजेट नदिएको र आन्तरिक स्रोत सीमित भएकाले योजना अघि बढाउन नसकिएको उनले बताए ।
गाउँपालिकाले स्थानीय स्रोतबाट ठोरी पालिकाको वडा नं. १ मा पर्ने सिंहे डाँडा र वडा नं. २ को गोले डाँडामा भ्यू टावर निर्माण गरे पनि त्यहाँ पुग्ने बाटोको दुरवस्था सम्भावना उपयोगको अवरोध बनेको छ । ‘ती टावर र त्यहाँ पुग्ने बाटो झाडी र बुट्यानले घेरिएको छ । सहज पहुँच नहुदा अहिले त्यो भ्यू टावरसम्म पुग्नै हम्मेहम्मे पर्छ,’ स्थानीय नातिकाजी सुनारले आर्थिक अभियानसँग भने । भ्यू टावरसम्म पुगेपछि त्यहाँबाट देखिने दृश्यले पर्यटकलाई लोभ्याउने उनले बताए । टावरबाट ठोरीका अधिकांश भाग र भारतका केही दृश्य अवलोकन गर्न सकिन्छ ।
गाउँपालिकाले यस स्थानमा पर्यटन र होटल व्यवसायलाई लक्षित गरी नमूना बस्तीको योजना बनाएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । ठोरी गाउँपालिका–२ कै एक बिगाहा १४ कठ्ठा जग्गामा पार्क निर्माण भइरहेको छ । ‘स्वीमिङ पुल, फन पार्कलगायत मनोरञ्जनका विविध संरचना समेटिएका पार्कले पर्यटक आकर्षित गर्ने र स्थानीयको जीवनस्तरमा सुधार आउने अपेक्षा छ,’ उनले भने ।
गाउँपालिकाले स्थानीय स्रोतबाट कृष्ण मन्दिर, चोकबजारमा शिव मन्दिर, सीता गुफा, रामनगर मन्दिरलगायत स्थानमा पर्यटकीय पूर्वाधार तयार गरी धार्मिक र सांस्कृतिक पर्यटन प्रवर्द्धनको योजना बनाएको छ । यी सबै सम्भावना उपयोगका लागि स्रोतको अभाव भइरहेको प्रमुख प्रशासकीय अधिकृत
थापाले बताए ।