बन्देजपूर्ण व्यापार हुनुहुन्न र बजारमा सबैको एकाधिकार छैन भन्ने अवधारणाअन्तर्गत संयुक्त राष्ट्रसङ्घले सन् १९८० डिसेम्बरमा केही सिद्धान्त अनुमोदन गरेको थियो । यसै दिनलाई आधार मानेर हरेक वर्ष ५ डिसेम्बरलाई विश्व प्रतिस्पर्धा दिवसको रूपमा मनाउन थालिएको हो । ‘डिजिटल अर्थतन्त्र, आविष्कार र प्रतिस्पर्धा’ प्रतिस्पर्धा दिवस–२०१८ को मूल नारा रहेको छ ।
सन् १९८० पछि क्रमशः ठूला अर्थतन्त्र भएका राष्ट्रले प्रतिस्पर्धा दिवस मनाउन थालेका थिए । सन् १९९० को दशकमा यस दिवसले यूरोपमा पनि आफ्नो प्रभाव जमायो । क्रमशः विश्वभरका करीब १ सयभन्दा बढी राष्ट्रले ५ डिसेम्बरलाई आर्थिक तथा व्यापारिक क्षेत्रमा स्वस्थ प्रतिस्पर्धाको माग गर्दै विश्व प्रतिस्पर्धा दिवस मनाउन थालेका थिए । उपभोक्ता अधिकार, स्वतन्त्र व्यापार अधिकार र आर्थिक क्रियाकलापमा संलग्न विभिन्न सङ्घसंस्थाले पछिल्लो १ दशकदेखि प्रतिस्पर्धा दिवस मनाउन थालेका छन् । यस दिवसले विशेष गरी विश्वभरका उपभोक्ताको हित र अधिकार सुनिश्चिततामा पनि ध्यान पुर्याउँछ ।