काठमाडौं । नेपालमा धान/चामलको आयात पछिल्लो ६ महीनामै ९० प्रतिशतले बढेको छ । फलस्वरुप यतिबेला बजारमा चामलको भाउ घटेको सम्बद्ध अधिकारीहरूले बताएका छन् ।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष (आव) २०८०/८१ को पुससम्म नेपालमा १० अर्ब १४ करोड रुपैयाँ बराबरको १ लाख ८७ हजार मेट्रिक टन धान/चामल आयात भएको थियो । चालू आवको सोही अवधिमा १९ अर्ब ९ करोड रुपैयाँ बराबरको ३ लाख ८१ हजार मेट्रिक टन धान/चामल आयात भएको देखिएको छ ।
भारतबाट आयात बढेसँगै नेपाली बजारमा चामलको आपूर्ति बढन गई मूल्य घटेको नेपाल चामल तेल दाल उद्योग संघका सदस्य विभोर अग्रवालले आर्थिक अभियानलाई बताए ।
उनका अनुसार यतिबेला हरेक किसिमका चामलमा प्रतिबोरा १५० रुपैयाँसम्मले मूल्य घटेको छ ।
‘चालू आवको शुरुआतमा हामीले २५ किलो चामलको बोरालाई औसतमा २ हजार १७५ रुपैयाँले विक्री गरेका थियौं । तर, अहिले त्यो मूल्य घटेर २ हजार ३५ रुपैयाँमा झरेको छ,’ उनले भने । यद्यपि, यसबीचमा उद्योगीले भारतबाट आयात गर्ने धानको मूल्य भने प्रतिक्विन्टल ४ हजार ४२३ रुपैयाँबाट बढेर ४ हजार ६०० रुपैयाँ पुगेको उनले बताए ।
साथै अहिले नयाँ उत्पादन भएको धान पनि बजारमा आउँदा त्यसले मूल्य घटाउन सहयोग गरेको अग्रवालको भनाइ छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार नेपालमा यस वर्ष ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको छ । यो उत्पादन गतवर्षको तुलनामा २ लाख ३१ हजार २४२ मेट्रिक टनले धेरै हो । गतवर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको थियो ।
आर्थिक वर्ष २०८०/८१ को पुससम्ममा १० अर्ब १४ करोडको धान/चामल आयात भएकोमा २०८१/८२ को सोही अवधिमा बढेर १९ अर्ब ९ करोड रुपैयाँ पुग्यो
गत कात्तिकमा भारत सरकारले आधा उसिनेको चामलमा लगाउँदै आएको निर्यात कर पनि हटाएको थियो । त्यसअघि विदेश निर्यात बढाउन भारत सरकारले आधा उसिनेको चामलको निर्यात कर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा कायम गरेको थियो । साथै केही महीना अघिदेखि भारत सरकारले बासमती र गैर–बासमती चामलमा लाग्दै आएको न्यूनतम निर्यात मूल्य हटाएको थियो । घरेलु बजारमा मूल्य आकाशिए अनि पर्याप्त आपूर्ति सुनिश्चित गर्न भारतले सन् २०२३ यता चामल निर्यातमा अनेकौं खालको प्रतिबन्ध लगाउँदै आएको थियो ।
खुद्रा व्यापार संघका कोषाध्यक्ष बसन्त श्रेष्ठले पनि यतिबेला खुद्रा बजारमा समेत हरेक चामलको मूल्य बोरामा १५० रुपैयाँसम्मले घटेको बताए । थोक व्यापारी र उद्योगबाटै चामलको मूल्य घटेर आएपछि खुद्रामा पनि मूल्य घटेको उनले बताए ।
संघले दिएको जानकारीअनुसार गत पुसमा २५ किलोको प्रतिबोरा २ हजार ५०० रुपैयाँ पर्ने स्टिम जिरा मसिना चामलको मूल्य यतिबेला २ हजार ३७५ मा झरेको छ । त्यसैगरी स्टिम सोना चामलको मूल्य पनि प्रतिबोरा २ हजार १२५ बाट २ हजार रुपैयाँमा ओर्लेको छ ।