काठमाडौं । धितोपत्र बजारसँग सम्बद्ध प्रमुख तीन निकायले अर्थ मन्त्रालयमा पूँजीबजारको विकास र विस्तारको कार्ययोजना पेश गरेका छन् । मन्त्रालयले फागुन २७ गते नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) लाई पूँजीबजारका तत्कालका समस्या समाधानका लागि आवश्यक कार्ययोजना पेश गर्न भनेको थियो ।
तीनओटै निकायले मन्त्रालयको निर्देशनबमोजिम कार्ययोजना पेश गरेको जानकारी दिएका छन् । पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले १८ बुँदे कार्ययोजना पेश गरेको बताएको छ । सरोकारवाला सबै पक्षसँग छलफल गरी बोर्डले १८ बुँदे कार्ययोजना तयार गरेको बोर्डका कार्यकारी प्रमुुख डा. नवराज अधिकारीले बताए ।
अधिकारीका अनुसार पूँजीबजारका सबै सरोकारवाला निकायसँगको छलफलबाट तयार गरेको १८ बुँदे कार्ययोजना बोर्ड सञ्चालक समितिको निर्णयबमोजिम अर्थ मन्त्रालयमा पेश गरिएको हो । बोर्डले ३१ ओटा बुँदा बनाए पनि तत्काल कार्यान्वयन गर्न आवश्यक रहेका र गर्न सकिने १८ बुँदे कार्ययोजना मात्र अर्थ मन्त्रालयमा पेश गरिएको अधिकारी बताउँछन् । पूँजीबजारसम्बद्ध नीतिनियमलाई समसामयिक बनाउने, सूचना प्रविधिलाई चुस्त दुरुस्त बनाउने, बोर्ड, नेप्से र सीडीएससीको क्षमता अभिवृद्धि गर्ने, धितोपत्र कारोबारमा लाग्नेले पाउने सेवासुविधालाई समेत समयसापेक्ष बनाउने कार्ययोजना १८ बुँदामा समेटिएको अधिकारीले बताए ।
आम लगानीकर्ता र धितोपत्र बजारसँग जोडिएका सबै पक्षको हितका लागि बोर्डले महत्त्वपूर्ण कार्ययोजना अघि सारेकाले अर्थले विशेष प्राथमिकताका साथ तिनलाई सफल बनाउन भूमिका खेल्ने अपेक्षा आफूहरूको रहेको कार्यकारी प्रमुख अधिकारीले बताए । नेप्से र सीडीएससीले पनि छुट्टाछुट्टै सुझाव पेश गरेका छन् । नेप्सेले आफ्नै पुन: संरचना, इन्ट्रा डे ट्रेडिङ र डेरिभेटिभ मार्केट सञ्चालनको वातावरण बन्नुपर्नेलगायत सुझाव पेश गरेको प्रबन्धक निरञ्जन फुयालले जानकारी दिए ।
त्यस्तै सीडीएससीले संस्थागत लगानीकर्ताको संख्या बढाउनुपर्ने, पूँजीगत लाभकर बढाउनेभन्दा घटाउने नीति लिनुपर्ने, बजारमा धितोपत्र औजारको विविधीकरण हुनुपर्ने, धितोपत्र बजारसम्बन्धी ऐन कानूनमा द्विविधा हुन नहुनेजस्ता सुझाव पेश गरेको कम्पनीका सूचना अधिकारी सुरेश न्यौपानेले बताए । अर्थमन्त्री वर्षमान पुनले देशको अर्थतन्त्रको विकासमा पूँजीबजारले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै पूँजीबजारमा तत्काल गर्न सकिने योजना माग गरेका हुन् । पूँजीबजारको विकास र विस्तारमा चासो देखाएका अर्थमन्त्री पुनले तीनओटै निकायबाट पेश भएका सुझाव र कार्ययोजनाको आधारमा काम गर्ने अपेक्षा सरोकारवालाको छ ।
फागुन २३ गते अर्थमन्त्री नियुक्त भएका पुनले पूँजीबजारको विकास र विस्तारमा शुरूका दिनदेखि नै चासो देखाएका छन् । अर्थमन्त्री पुनले पूँजीबजारको सुधारका लागि देखाएको चासोका आधारमा तीनओटै निकायबाट प्राप्त कार्ययोजना समेटेर चाँडै नै राम्रो निर्णय हुने अपेक्षा गरिएको लगानीकर्ता तिलक कोइरालाले बताए । पूँजीबजारलाई नीतिगत सुधारमार्फत चलायमान बनाउने कार्यमा अर्थमन्त्री पुनमार्फत धमाधम निर्णय आउने विश्वास उनको छ ।
नेपाल धितोपत्र बोर्ड
- पूँजीबजारसम्बद्ध नीतिनियमलाई समसामयिक बनाउने
- सूचना प्रविधिलाई चुस्त दुरुस्त बनाउने
- बोर्ड, नेप्से र सीडीएससीको क्षमता बढाउने
नेपाल स्टक एक्सचेन्ज
- नेप्सेको पुन: संरचना
- इन्ट्रा डे ट्रेडिङको वातावरण निर्माण
- डेरिभेटिभ मार्केट सञ्चालन
सिडिएस एन्ड क्लियरिङ लि
- संस्थागत लगानीकर्ताको संख्या वृद्धि
- पूँजीगत लाभकर घटाउने नीति
- बजारमा धितोपत्र औजारको विविधीकरण
- ऐन कानूनका द्विविधा हटाउन