वैशाख ६, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत संयोजक रहने गरी सञ्चालनमा रहेको राफसाफ कोषमा १ करोड ७५ लाख रुपैयाँ रकम जम्मा भएको छ । कोषका सदस्य सचिव सागर ढुङ्गेलका अनुसार वैशाख ४ गतेसमम्म कोषमा उक्त रकम जम्मा भएको हो ।
कोषमा रकम बढ्दै गएको भएपनि धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूले त्यस कोषको उपभोग गरेका छैनन् । ‘पहिले कोषमा रकम जम्मा भएको थिएन् । अहिले रकम बढ्न थालेको पनि धेरै भएको छैन् । त्यही भएर नै होला ब्रोकर कम्पनीहरूले कोषको उपभोग गरेका छैनन्,’ ढुङ्गेलले भने । गत आर्थिक वर्षको मुनाफाबाट नेप्सेले ७२ लाख रूपैयाँ कोषमा जम्मा गरेको उनको भनाइ छ ।
धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ अनुसार नेप्से, सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) र ब्रोकर कम्पनीहरूले कोष सञ्चालनमा आएको ५ वर्षसम्म प्रत्येक वर्ष नाफाको शुन्य दशमलव ५ प्रतिशत रकम जम्मा गर्नुपर्ने हुन्छ । त्यस्तै ५ वर्षपछि प्रत्येक वर्ष नाफाको शुन्य दशमलव २५ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ । नेप्सेले रकम जम्मा गरेको भएपनि सीडीएससीले जम्मा गरेको छैन् । नेपालमा सञ्चालित ५० ओटा ब्रोकर कम्पनीहरूमध्ये कुनै कुनैले रकम जम्म गरिसकेका ढुङ्गगलले बताए । कतिपय ब्रोकरले रकम जम्मा गरेको फाइल नेप्सेमा बुझाउन थालेको पनि उनको भनाइ छ ।
तर, कोष २०७५ सालदेखि सञ्चालनमा अएको भएपनि रकम जम्मा भने उल्लेख्य रूपमा बढ्न सकेको थिएन । बजार घटेको समयमा कमिसन कम प्राप्त हुने भएकाले पनि कोषमा रकम जम्मा नभएको हो । पछिल्लो एक वर्षमा नेप्से परिसूचक बढेकाले नेप्से, सीडीएसी र ब्रोकर कम्पनीहरूको नाफामा पनि वृद्धि भएको छ । पछिल्ला २ वर्षमा नाफा वृद्धि भएसँगै कोषमा रकम पनि बढ्दै जाने सदस्य सचिव ढुङ्गेलको आकलन छ ।
तर, कतिपय ब्रोकर कम्पनीहरूले गत आवको नाफाको हिस्सा जम्ममा गर्न बाँकी रहेकाले चालू आवको अन्त्यसम्ममा कोषमा रकम ३ अर्ब भन्दा बढी जम्मा हुने आकलन गरिएको छ ।
ब्रोकरले पाएको सेवा लिएनन्
पछिल्लो समय कोषमा पैसा बढ्नै गएको भए पनि ब्रोकर कम्पनीहरूले उक्त कोषबाट प्राप्त हुने सेवा लिएका छैन् । नियमावलीमा ब्रोकरले कारोबार रकमको ७५ प्रतिशत प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । उक्त नियमावलीमा कोषबाट प्राप्त रकम सात दिन भित्र वार्षिक १० प्रतिशतको दरले ब्याजसहित ब्रोकरले एक साताभित्र उक्त रकम फिर्ता गर्नुपर्नेछ ।
पहिले कोषमा रकम नभएको र अहिले रकम जम्मा हुँदा स्पष्ट नीति नहुँदा ब्रोकरले उक्त सेवा लिन नसकेको स्टक ब्रोकर एसोसियशन अफ नेपालका अध्यक्ष सन्तोष मौनालीले बताए । उनका अनुुसार नियमावलीमा निर्देशिका बनाउन सक्ने भन्ने व्यवस्था गरेकोले सोही अनुसार काम अगाडि बढाइएको छ । उक्त निर्देशिकामा कतिसम्म ऋण निद सकिन्छ भनेर पनि व्यवस्था गरिने सीडीएससीका प्रमुुख कार्यकारी अधिकृत तथा कोषका सदस्य पूर्णप्रसाद आचार्यले बताए । अहिले कति दिने भन्ने कुरा नै स्पष्ट नभएका कारणले गर्दा कोषको रकम कुनै पनि सदस्य संस्थाले नलिएको उनको भनाइ छ ।
कोषका सदस्य सचिव ढुङ्गेलका अनुसार उक्त कोषलाई व्यवस्थित गर्न कार्यविधि चालू आर्थिक वर्षभित्र नै कार्यान्वयनमा ल्याइने तयारी थालिएको छ । उक्त कार्यविधि आएसँगै स्पष्ट व्यवस्था हुने र सदस्य कम्पनीहरूले सेवा लिन सहज हुने बताइएको छ ।
के हो राफसाफ कोष ?
यो शेयर खरिदकर्ताले समयमै पैसा तिर्न नसक्दा कारोबार राफसाफका लागि ब्रोकरले रकम सापटी लिने पाउने कोष (साफसाफ सुनिश्चित कोष) हो । यसलाई कार्यान्वयन गर्न नेपाल धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिएपछि विनियमावली बनाएर सञ्चालनमा ल्याएको थियो ।
कुनै पनि ब्रोकर कम्पनीबाट लगानीकर्ताले शेयर किनेर ‘टि प्लस टु’ मा पैसा तिर्न नसके ब्रोकर कम्पनीले शेयर राफसाफ गर्न यो कोषमा भएको रकम निश्चित समयका लागि प्रयोग गर्न सक्छन् । यो कोषको व्यवस्था गर्नुुको मुख्य उद्देश्य लगानीकर्ताको सहज बनाउँनु रहेको सदस्य आचार्य बताउँछन् । अहिलेसम्म ब्रोकर कम्पनीले यस्तो सेवा प्रयोग नगरेको उनी बताउँछन् ।
पहिले कोषमा पैसा नभएकाले पनि यसको प्रयोग नगरेको आचार्यको भनाइ छ । यो कोषको काम ब्रोकरले शेयर सेटलमेन्ट गर्न नसकेको अवस्थामा प्रयोग हुने हो । लगानीकर्ताले शेयर किनेर कुनै बेला समस्यामा परेर २÷३ दिनमा पैसा तिर्न नसक्दा यो कोषको प्रयोग गर्ने योजनाका साथ कोषको स्थापना गरिएको उनी बताउँछन् ।
कोषमा संयोजक नेप्सेको प्रमुख कार्यकारी अधिकृत, सदस्यहरूमा सीडीएससीको प्रमुख कार्यकारी अधिकृत, ब्रोकर कम्पनीहरूको एक प्रतिनिधि, सीडीएससीको राफसाफ हेर्ने वरिष्ठ अधिकृत र नेप्सेका प्रमुख कार्यकारी अधिकृतले तोकेको अधिकृत सदस्य सचिव हुने व्यवस्था छ ।