काठमाडौं । मुलुकमा रासायनिक मल उत्पादन गर्ने कारखाना नभएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयमार्फत अनुदानमा अन्तरराष्ट्रिय बजारबाट आयात गरेर किसानसम्म पुर्याइने गरिएको छ ।
किसानले खुला सीमापारिका बजारमा सहजरूपमा रासायनिक मल पाउने तथा अवैधानिक व्यापारबाट पनि भित्रिने गरेकाले सरकारले विसं २०६५ चैत १२ गतेदेखि अनुदानमा अन्तरराष्ट्रिय बजारबाट आयात गरेर किसानसम्म पुर्याउने निर्णय लिएको थियो ।
कृषि सामग्री कम्पनी लिमिटेडका सूचना अधिकारी पुण्यप्रसाद उपाध्यायका अनुसार यस वर्षका लागि मल मौज्दात रहेको बताउँदै थप मल आयात हुने प्रतियामा रहेकाले अभाव नहुने जानकारी दिए । जैविक (कम्पोष्ट) मल ठूलो मात्रामा उत्पादन भएर सहज ढुवानी गर्नसके किसानले थप प्रतिफल प्राप्त गर्न सक्ने उनले बताए ।
‘सरकारी प्रयासमा एकपटक जैविक मल (भर्मिक कम्पोष्ट) उत्पादन र वितरणको प्रयास भएको थियो तर त्यो सफल भएन,’ उपाध्यायले भने, ‘ठूलो मात्रामा नियमित माग हुने भएकाले निजी क्षेत्रबाट उत्पादन हुने जैविक मल प्रयोगमा आउनुलाई सकारात्मक मान्न सकिन्छ । किसानका मागका आधारमा यसको उत्पादन र ढुवानी भने भएको छैन ।’
कम्पनीका अनुसार मुलुकमा हाल २६ हजार मेट्रिक टन युरिया मल मौज्दात छ भने ३० हजार मेट्रिक टन युरिया आउने प्रक्रियामा छ । डीएपी मल १२ हजार मेट्रिक टन मौज्दत रहेको जनाउँदै कम्पनीका सूचना अधिकारी उपाध्यायले थप ३५ हजार आयात गरिएको बताए । उनका अनुसार पोटास मल सात हजार मेट्रिक टन मौज्दात छ ।
कृषिप्रधान नेपालमा रासायनिक मलको बढ्दो मागका कारण बर्सेनि आयात बढाउनुपर्ने बाध्यता रहनुका साथै रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्ति खेर गइरहेको उनको भनाइ छ । वैदेशिक व्यापारघाटालाई सन्तुलित तुल्याउन सरकारले नीतिगत व्यवस्था गरेकाले निजी क्षेत्रको लगानीमा स्वदेशमै जैविक मल उत्पादन शुरु गरिएको उनले जानकारी दिए ।
धनुषाको धनुषाधाम नगरपालिका–३ स्थित ‘आरोह फर्टिलाइजर्स प्रालि’ले किसानको जैविक मलको मागलाई ध्यानमा राखी गत आइतवारदेखि आफ्नो उत्पादनलाई बजारमा पठाउन थालेको छ ।
स्वदेशका अधिकांश कच्चा पदार्थको प्रयोगबाट जैविक दानेदार र तरल मल उत्पादन गरेको प्रालिका कार्यकारी अध्यक्ष शैलेन्द्रशम्शेर राणाले जानकारी दिए । उनका अनुसार कम्पनीले ‘हरियो नेपालतर्फ एक पाइला’ भन्ने अवधारणाअनुरूप वातावरणमैत्री र माटोमा उर्वराशक्ति बढाउने मल बजारमा पठाउन थालेको हो ।
हिमाल, पहाड र तराई क्षेत्रका विभिन्न ठाउँका माटोको परीक्षणपछि उपयुक्त प्रमाणित भएसँगै मल बजार पठाउन थालिएको राणाले बताए । रासायनिक मलको जथाभावी प्रयोगले जमिनको उर्वराशक्ति नष्ट हुने मात्र नभई मानव स्वास्थ्यमा समेत प्रतिकूल असर परेको भन्दै मलमा हुने परनिर्भरतालाई घटाउन जैविक मल उत्पादन गरिएको उनको भनाइ छ ।
प्रालिका प्रबन्ध निर्देशक आङकामी लामाले उद्योगले कच्चा पदार्थ सहज उपलब्धता भएसँगै मलको मागलाई दृष्टिगत गरी वार्षिक रूपमा ३० हजार मेट्रिक टनसम्म जैविक मल उत्पादन गर्ने योजना बनाएको जानकारी दिए । उत्पादित जैविक मलको प्रयोगले जमिनको उर्वराशक्ति पाँच वर्षमा पुरानै अवस्थामा पुर्याउने, कृषि उत्पादन बढाउने र उत्पादित वस्तु सम्पूर्ण हिसाबले अर्गानिक हुने उनले दाबी गरे ।
जैविक मलको प्रयोगले माटोमा पोषण तत्व बढाउनाका साथै माटोका प्राकृतिक गुण जोगाउन सहयोग पुग्ने प्रबन्ध निर्देशक लामाले बताए । उनका अनुसार कम्पनीले हाल ६ किसिमका झोल मल, चार किसिमका दानेदार मल र दुई किसिमका जैविक किटनाशक औषधि उत्पादन गरिरहेको छ ।
कम्पनीका कार्यकारी निर्देशक सवार्थशम्शेर जबराले नेपाली कृषकले बालीनाली लगाउने मनसुनमा सधैं रासायनिक महलको हाहाकार भोग्नुपरेको घटनालाई सम्बोधन गर्न आधुनिक प्रविधिबाट मुलुकको माटो र हावापानी सुहाउँदो बायो अर्गानिक (जैविक) मल उत्पादनमा जोड दिइएको बताए ।
उनका अनुसार जैविक मलका लागि आवश्यक मुख्य कच्चा पदार्थ गाईवस्तुको गोबर भएकाले उद्योगले स्थानीय सङ्कलनका अतिरिक्त सिरहा, सर्लाही, महोत्तरीका साथै काभ्रे, भक्तपुर, काठमाडौंलगायत स्थानबाट गोबर सङ्कलन गर्दै आएको छ । जैविक मलका लागि गोबर बेचेर पशुपालक किसान पनि लाभान्वित भएका उनले बताए ।
कम्पनीले बायो गेडा मल प्रतिकिलो रु ७० र झोल मल प्रतिलिटर रु ६५० बजार मूल्य तोकिएको छ । ‘दानेदार मल एक कठ्ठा जमिनका लागि एक बोरा चाहिन्छ भने एक लिटर तरल मलले पहाडमा आाठ रोपनी र तराईमा १२ कठ्ठामा पर्याप्त हुन्छ,’ कार्यकारी निर्देशक जबराले भने ।
बायो मल धान, मकै, गहुँ र तरकारीका अतिरिक्त स्याउ, चिया, उखु, अलैंची, केरा, किबी, तर्बुजाका लागि फलदायी हुने उनको दाबी छ । यसको प्रयोगबाट उत्पादित वस्तु अर्गानिक भएकाले लामो समयसम्म टिक्ने कम्पनीले जनाएको छ ।
उद्योगका लागि आवश्यक ९० प्रतिशत कच्चा पदार्थ मुलुकमा उपलब्ध हुन्छ भने विशेष प्रकारको माटोसहितका केही कच्चा पदार्थ भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको कार्यकारी निर्देशक जबराले बताए ।
बजारमा आउनुअघि मुस्ताङका स्याउ बगानदेखि इलामको चिया र अलैंचीका लागि माग भइसकेको कम्पनीले जनाएको छ । किटनाशक औषधिको अन्धाधुन्ध प्रयोग र अत्यधिक रासायनिक मलको प्रयोगबाट उत्पादित वस्तु खानाले क्यान्सरलगायत घातक रोग निम्त्याएको पाइन्छ ।
विभिन्न बायो उद्योगबाट खेर गइरहेको पदार्थ मल उत्पादनमा कच्च पदार्थका रूपमा प्रयोग गर्न सकिन्छ । कृषि तथा पशुपक्षी मन्त्रालयका पूर्वसचिव डा. योगेन्द्र कार्कीले जैविक मलको प्रयोगले माटो नबिगार्ने र उर्वराशक्ति बढाउने बताए । ‘यो मलको प्रयोगले साधारण अवस्थामा कृषि उत्पादन वृद्धि हुन्छ । जथाभावी रासायनिक मलको प्रयोगबाट उर्वराशक्ति गुमेको माटोलाई पहिलकै अवस्थामा पुर्याउन सहयोग हुँन्छ,’ उनले भने । रासस