काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्तावित लाभांश रद्द गर्ने निर्णय गरेको छ । वैशाख १३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णय स्वीकृतिका लागि कम्पनीले नेपाल राष्ट्र बैंकसमक्ष पेश गरेको थियो । नेपाल राष्ट्र बैंकले वैशाख २० गते आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू साधारण सभा प्रयोजनार्थ प्रकाशन गर्न स्वीकृति प्रदान गरे पनि लाभांश सम्बन्धमा कुनै निर्णय नगरेको कम्पनीको भनाइ छ ।
नेपाल राष्ट्र बैंकले पत्रमा लाभांशबारे नखुलाएपछि कम्पनीले वैशाख २० गते पुनः लाभांश स्वीकृतिका लागि राष्ट्र बैंकसमक्ष अनुरोध गरेको थियो । हालसम्म पनि राष्ट्र बैंकबाट लाभांशका सम्बन्धमा कारबाही नभएकाले प्रस्तावित लाभांश रद्द गर्ने निर्णयमा कम्पनी पुगेको हो ।
कम्पनीको हाल चुक्तापूँजी रू. २६ करोड रहेको छ । सोही पूँजीको आधारमा रू. ३ करोड ७० लाख ५० हजार बराबरको बोनस शेयर र रू. १९ लाख ५० हजार बराबरको नगद लाभांश गरी कुल रू. ३ करोड ९० लाख बराबरको लाभांश वितरणको प्रस्ताव कम्पनीले गरेको थियो ।
रिपोर्ट हेर्नुहोस