व्यवसायीहरू मुलुकको समग्र आर्थिक अवस्थाप्रति बढी निराश देखिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले गत महीना सार्वजनिक गरेको व्यावसायिक मनोबल सर्वेक्षणअनुसार व्यवसायीले राष्ट्रिय अवस्थाभन्दा आफ्नो व्यवसाय तथा कम्पनीप्रति बढी विश्वास व्यक्त गरेका छन् । नेपालमै पहिलोपटक व्यावसायिक मनोबल परिसूचक (बीसीआई) तयार पार्ने उद्देश्यले गरिएको उक्त सर्वेक्षणले व्यक्तिगत कम्पनी परिसूचक ४५ दशमलव ७ अङ्कमा रहेको देखाएको छ भने राष्ट्रिय आर्थिक अवस्था परिसूचक २८ दशमलव ७ मात्रै रहेको उल्लेख गरेको छ ।
कृषि, उद्योग र सेवा गरी तीन क्षेत्रमा अलगअलग मापन गरिएको परिसूचकले पनि नेपालमा उचित व्यावसायिक वातावरण नभएको देखाएको छ । सर्वेक्षणअनुसार उद्योग र सेवाक्षेत्रको परिसूचक क्रमश: २८ र ३० मा रहेको छ । १ सय पूर्णाङ्कमा मापन गरिने बीसीआईमा २५ भन्दा कम अङ्कले ‘अति न्यून मनोबल’, २२५ देखि ५० सम्मले न्यून मनोबल रहेको जनाउँछ । त्यस्तै ५० देखि ७५ सम्मको अङ्कले ‘उच्च मनोबल’ र ७५ भन्दामाथिले ‘अतिउच्च मनोबल’ रहेको जनाउँछ । परिसूचकले सन् २०१२ जुनदेखि नोभेम्बरसम्मको अवस्था दर्शाउने अध्ययनमा उल्लेख छ ।
वर्ष ८, अंक ६५, शुक्रवार ८ मङ्सिर, २०६९