अर्बौं तारा हराएर केही हुँदैन तर एउटा तारा हरायो भने के हुन्छ सबैलाई थाहा छ । नेपालको झन्डा पनि त्यस्तै एउटा तारा हो, नेपालका लागि किनकि यो हरायो भने हाम्रो विशिष्टताको अस्तित्व हराउँछ । अहिलेसम्म सन् १९१२ मा प्रचलनमा आएको र सन् १६२५ मा औपचारिकता पाएको डेनमार्कको झन्डालाई सबैभन्दा पुरानो मानिन्छ, तर महाभारतको युद्धमा देखिने ध्वजाहरू डेनमार्कको भन्दा धेरै पुराना झन्डा हुन् जुन नेपाली झन्डाकै आकारमा त्रिकोणाकार देखिन्छन् ।
नेपाललाई चिनाउने एकमात्र पृथक् अस्तित्व बोकेको विश्वकै फरकमध्येमा पर्ने राष्ट्रिय गरिमाको प्रतीक नेपाली झन्डाको जन्ममिति अर्वाचीन भए पनि आकृति प्राचीन र सनातनसँग जोडिएको छ । जसको २ त्रिकोणात्मक आकारले विश्वलाई चकित तुल्याउने किसिमको छ । यसको इतिहास, गर्व र गरिमा जान्नु आम नेपालीका लागि आवश्यक छ ।
झन्डाको सम्बन्धमा धेरै कुरा स्पष्ट पार्ने प्रयास नेपालको संविधानबाट नै शुरू हुन्छ । राष्ट्रिय झन्डा कस्तो र कसरी बनाउने भन्ने सन्दर्भमा नेपालको संविधानमा लेख्दै आइएको छ । जुनकुरा २०१९ को संविधानमा लेखिएकाले नेपालको झन्डाले २०१९ पुस १ गतेबाट औपचारिकता पाएको हो । त्यसअघि पृथ्वीनारायण शाहका पालादेखि हुबहु यो आकृतिको झन्डा बनाइएको थियो । यस्तो झन्डा जहाँ जहाँ फहराइएको हुन्थ्यो त्यहाँ एकीकृत नेपाल हुने संकेत गर्नका लागि झन्डाको प्रयोग भएको हो । आफू लडाइँमा अन्यत्र गएको बेलामा शत्रु देशको राजाले गोरखामा अर्को झन्डा राखे के गर्ने भन्ने तर्कमा राजछत्र र राष्ट्रिय झन्डा दुई प्रकारका झन्डा पनि त्यतिबेला प्रचलनमा रहेको पाइन्छ । त्यसैले नेपाली झन्डाको वर्तमान आकार नेपाल एकीकरणको समयमा बनेको हो ।
नेपालका राजामध्ये लिच्छवीहरूले र मल्लराजाहरूले सूर्यअंकित झन्डा बढी प्रयोग गरेका थिए र आभिरवंशीहरूले र शाहवंशी राजाले सोम अथवा चन्द्रमा अंकित झन्डालाई बढी प्रयोगमा ल्याएका थिए । पछि यी दुवैलाई महत्त्व दिएर नेपालको झन्डा बनाइयो । २०१९ अगाडिसम्म सूर्य माथि कि चन्द्रमा माथिको ठेगान थिएन । संयुक्त राष्ट्रसंघमा वा अन्य विदेशी भ्रमणमा राजाको, प्रधानमन्त्रीको, सचिवको झन्डाको आकार प्रकारमा प्रश्न उठेपछि २०१९ पछि नेपालको झन्डालाई अहिलेको आकृतिमा ल्याइएको हो । जहाँ चन्द्रमा माथि र सूर्यलाई तल बनाइन्छ । अहिले त कुन कार्यालयले कुन साइजको झन्डा प्रयोग गर्ने, सरकारी, गैरसरकारी र व्यक्तिले कस्तो झन्डा प्रयोग गर्ने भन्ने बारेमा पनि गृह मन्त्रालयले निर्देशिका जारी गरेको छ ।
नेपालको संविधान, २०७२ को धारा ८ मा उल्लेख भएबमोजिम सिम्रिक रंगको भुइँ र गाढा नीलो रंगको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको परम्परागत झन्डा नेपालको राष्ट्रिय झन्डा हो । त्यसैगरी राष्ट्रिय झन्डा र राष्ट्रिय गान प्रयोगसम्बन्धी कार्यविधि २०६९ ले संवैधानिक निकाय तथा सरकारी कार्यालयले प्रयोग गर्ने झन्डा ८ह६ फिटको हुनुपर्ने, नेपाल सरकारको पूर्ण तथा आंशिक स्वामित्व भएका संघ वा संस्थाले ६ह४ फीटको, संवैधानिक निकाय तथा सरकारी कार्यालय प्रमुखको कार्यकक्ष, गैरसरकारी संघसंस्था तथा नेपाली नागरिकले व्यक्तिगत रूपमा प्रयोग गर्ने राष्ट्रिय झन्डाको आकार ४ह३ फिटको, संवैधानिक निकाय तथा सरकारी कार्यालय प्रमुखको टेबुलमा र विशिष्ट व्यक्तिहरूले प्रयोग गर्ने सवारी साधनमा राखिने राष्ट्रिय झन्डाको आकार ३०ह२० सेन्टिमिटर, नेपाली नागरिकले राष्ट्रिय उत्सव र महोत्सवहरूमा ३०ह२० सेन्टिमीटर आकारको झन्डा हात हातमा लिएर हिँड्न सक्नेछन् भनिएको छ । राष्ट्रिय पर्व, राष्ट्रप्रमुख वा सरकार प्रमुखको औपचारिक भ्रमण तथा समकक्षी विदेशी पाहुनाहरूको सवारीका बखत तोकिएबमोजिमको सडकको दायाँबायाँ र चोकमा फहराइने झन्डाको आकार ३ह२.५ फिट हुने भनी लेखिएको छ । त्यसैगरी नेपाली नागरिकले ८ह्६ वा ३ह्२.५ सेन्टिमीटर साइजको राष्ट्रिय झन्डाको समेत प्रयोग गर्न सक्छन् । यसरी झन्डाको आकार सम्बन्धमा कार्यविधि स्पष्ट भयो ।
नेपालका सबै सरकारी कार्यालय, जंगी, प्रहरी, निजामती कार्यालयमा अनिवार्य झन्डा राखिनुपर्छ किनकि आम जनतालाई परैबाट थाहा होस् कि यो सरकारी कार्यालय हो । सबै स्कूलमा पनि राष्ट्रिय झन्डा फहराउनुपर्छ । यदि कतै राखिएको छैन भने स्थानीय निकायले निगरानी गर्नुपर्छ । यो एकताको प्रतीक हो ।
झन्डाको अवस्थिति सम्बन्धमा स्पष्टता छैन तर पनि झन्डा ठाडो पारेर राख्नुपर्छ किनकि यो विजय वा स्वाभिमानको संकेत हो । प्रतीकात्मक रूपमा घोप्टो वा मुर्झाएको हुनु हुँदेन । यो जान्दा जान्दै पनि अन्तरराष्ट्रिय विमानस्थलको तल सिनामङ्गलको मूल सडकमा राष्ट्रिय झन्डाहरूलाई तल झुकाएर राखिएको थियो । एक हप्ता भयो त्यहाँ झन्डा फहराइएको छैन ।
नेपाली झन्डाले नेपालको इतिहासको सबैभन्दा पुरानो बिरासत बोकेको छ । आज पनि नेपाली झन्डामा चन्द्रमा माथि र सूर्य तल हुनुको अर्थ गोर्खाली राजाहरू पनि चन्द्रमालाई आफ्नो वंशज मान्छन् भन्ने संकेत पक्कै हो । जे जसो भए पनि नेपालको राष्ट्रिय झन्डा हाम्रो एकताको प्रतीक हो त्यसैले यसको ऐतिहासिक, धार्मिक, शूरता, वीरता, शान्ति सबै कुराको प्रतीकका रूपमा रहेको झन्डाको अवस्थितिमा स्पष्टता आओस् र यसको मुर्झाएको अवस्था कहीँ कतै कसैबाट नदेखियोस्, नदेखाइयोस् ।
२०५३ सालमा दयाराम श्रेष्ठले लेखेको राष्ट्रिय झन्डा भन्ने पुस्तकले मदन पुरस्कार पाएको थियो । त्यो पुस्तकका अनुसार नेपाली झन्डालाई आजको रूप दिने व्यक्तिको नाम आर्टिटेक्ट तथा इन्जिनीयर शंकरनाथ रिमाल हुन् । उनले झन्डा बनाउने बेलामा यसको भुइँको रंग अर्कै बनाउने सोचेका थिए तर गोपालप्रसाद रिमालको ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’ भन्ने गीतको मर्यादा मेटिने भएकाले रातो भूइँमा चन्द्र र सूर्य अंकित झन्डा बनाएका थिए । यसप्रकार नेपालको झन्डा हरेक कोणबाट पहिचानयुक्त भएकाले यसलाई सार्वजनिक ठाउँमा सबैको शिर उँचो पार्नेगरी ठाडो बनाएर राख्ने गरौं, उँधो फर्काएर झन्डा झुन्डाउने काम कहिल्यै नगरौं ।
लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।